Banijya News

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथिको छलफल अन्योलमा

1
1.0K Shares

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ। बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमाथि छलफललाई निरन्तरता दिने कार्यसूची रहेको भए पनि संसद्मा जारी राजनीतिक विवादका कारण बैठक नियमित रूपमा सञ्चालन हुने वा नहुने विषय अझै अनिश्चित बनेको छ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा बजेटसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ। आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमाथि सांसदहरूले उठाएका जिज्ञासा, सुझाव तथा प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी रहेको छ। बजेट कार्यान्वयनका प्राथमिकता, राजस्व संकलन, खर्च व्यवस्थापन तथा विकास योजनाका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

यसैगरी, बैठकमा अर्थ विधेयक निर्धारित अवधिभित्र राष्ट्रिय सभाबाट फिर्ता नआएको सम्बन्धमा जानकारी गराइने सम्भावित कार्यसूची पनि रहेको छ। साथै, चलचित्र क्षेत्रलाई व्यवस्थित र आधुनिक बनाउन ल्याइएको चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्तावमाथि पनि छलफल हुन सक्ने बताइएको छ।

तर संसद्को नियमित कामकारबाही अघि बढ्ने विषयमा अझै अन्योल कायम छ। प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेका छन्। उक्त विषयलाई लिएर प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय हित र संवेदनशील विषयसँग जोडिएको भन्दै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने अडान राखेका छन्।

प्रतिपक्षी दलहरूको अवरोधका कारण पछिल्ला केही बैठकहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। संसद्को कार्यसूचीमा रहेका महत्त्वपूर्ण विधेयक तथा बजेटसम्बन्धी छलफलसमेत प्रभावित भएका छन्। आजको बैठकमा पनि प्रतिपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिने संकेत गरेका कारण बैठक कार्यसूचीअनुसार अगाडि बढ्ने वा फेरि अवरुद्ध हुने भन्ने विषय चासोको केन्द्रमा रहेको छ।

सरकार पक्ष भने संसद्लाई नियमित रूपमा सञ्चालन गरी बजेटमाथिको छलफल समयमै सम्पन्न गर्नुपर्ने पक्षमा देखिएको छ।

1

Scroll to Top