Banijya News

सचिव कृष्णहरी पुष्करको सम्पत्तिमाथि छानबिन सुरु

1
1.0K Shares

सरकारी प्रशासनमा लामो समयदेखि विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका सचिव कृष्णहरी पुष्कर अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानको दायरामा परेका छन्। विभागले उनको सम्पत्तिको स्रोत, आय–व्यय तथा विभिन्न निर्णयसँग जोडिएका आर्थिक पक्षहरूको अध्ययन थालेको जनाएको छ। पछिल्लो समय सार्वजनिक भएको घटनाक्रमसँगै उनीमाथिको अनुसन्धानले थप चर्चा पाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत जगेडामा रहेका पुष्करलाई केही साताअघि प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत सन्देश पठाएको विषयमा विवादमा तानिएको थियो। उनले प्रधानमन्त्रीको हटलाइन नम्बरमा सन्देश पठाउँदै आफूले राजदूत पदका लागि आवेदन दिएको जानकारी गराएर सहयोगको अपेक्षा व्यक्त गरेका थिए। प्रधानमन्त्रीको सचिवालयले यसलाई प्रशासनिक ‘चेन अफ कमाण्ड’ विपरीत व्यक्तिगत स्वार्थका लागि गरिएको पहलका रूपमा व्याख्या गरेको छ।

यस घटनापछि जेठ २१ गते प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसलगत्तै उपराष्ट्रपतिको कार्यालयमा कार्यरत उनलाई हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा राख्ने निर्णय गरिएको थियो। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ सुगा निवासी पुष्कर र प्रधानमन्त्री शाह एउटै जिल्लाका बासिन्दा हुन्।

स्रोतका अनुसार पुष्कर मुख्यसचिव बन्ने प्रतिस्पर्धामा समेत रहेका थिए। तर सरकारले २०८२ साल मंसिर ९ गते सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनी उक्त अवसरबाट वञ्चित भएका थिए। आगामी असार २४ गते उनी अनिवार्य अवकाशमा जाँदै छन्।

अनुसन्धानको केन्द्रमा विशेषगरी उनले राजस्व सचिवको जिम्मेवारी सम्हालेको समयलाई राखिएको बताइएको छ। २०७८ भदौपछि राजस्व प्रशासनको नेतृत्व गर्दा उनले गरेका केही निर्णय र त्यससँग सम्बन्धित आर्थिक लाभबारे प्रश्न उठेको स्रोतहरूको दाबी छ। त्यतिबेला उनी अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा समेत सचिवको भूमिकामा थिए।

अनुसन्धानकर्ताहरूले विशेषगरी काठमाडौंको कपन क्षेत्रमा निर्माण गरिएको उनको आलिशान घरको आर्थिक स्रोतबारे चासो दिएका छन्। उक्त भवन निर्माणका लागि प्रयोग गरिएको रकम, त्यसको वैधानिक स्रोत तथा त्यस अवधिमा भएका प्रशासनिक निर्णयबीच कुनै सम्बन्ध छ कि छैन भन्ने विषयमा विभागले अध्ययन गरिरहेको जनाइएको छ। विभागका अधिकारीहरूका अनुसार सम्पत्ति विवरण, बैंकिङ कारोबार तथा निर्णय प्रक्रियाको विस्तृत विश्लेषण गरेर वास्तविक स्रोत पुष्टि गर्ने प्रयास भइरहेको छ।

1

Scroll to Top