नेपालको निर्जीवन बीमा क्षेत्रमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ मा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको जनाएको छ। कम्पनीले आर्थिक वर्षभरि ६ अर्ब ११ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गर्दै आफूले नेपाली निर्जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको दाबी गरेको हो। कम्पनीका अनुसार यो उपलब्धिले संस्थाको बजार नेतृत्वलाई थप मजबुत बनाउनुका साथै देशमा बीमाको पहुँच विस्तार र आर्थिक जोखिम व्यवस्थापनमा सकारात्मक योगदान पुर्याएको छ।
कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार बीमा सेवाप्रति आम नागरिकको विश्वास बढ्दै जानु, सेवा विस्तारमा निरन्तर गरिएको लगानी तथा नवीन बीमा योजनाको विकासले यो सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ। बीमालाई सबै नागरिकको पहुँचमा पुर्याउने उद्देश्यका साथ विभिन्न वर्ग र क्षेत्रलाई लक्षित गरी सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ।
शिखर इन्स्योरेन्सले स्थापना कालदेखि नै ग्राहकमुखी सेवा, गुणस्तरीय बीमा योजना र आधुनिक व्यवस्थापन प्रणालीलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। यही रणनीतिका कारण कम्पनीले समयानुकूल सेवा प्रवाह गर्दै आफ्नो व्यवसाय विस्तार गर्न सफल भएको दाबी गरेको छ। कम्पनीले बीमा सेवाको पहुँचलाई ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विस्तार गर्ने लक्ष्यअनुसार देशभर आफ्नो शाखा सञ्जाललाई निरन्तर विस्तार गर्दै आएको पनि उल्लेख गरेको छ।
हाल कम्पनीले नेपालका सबै ७७ जिल्लामा फैलिएका १३१ शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। विस्तारित शाखा सञ्जालका कारण बीमा सेवा सहज रूपमा उपलब्ध भएको र वित्तीय समावेशीकरणलाई थप प्रभावकारी बनाउन सहयोग पुगेको कम्पनीको विश्वास छ। स्थानीय स्तरसम्म सेवा पुर्याउँदा बीमाप्रतिको जनचासो र सहभागिता समेत बढ्दै गएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस आर्थिक वर्षको उपलब्धिको आधार केवल व्यवसाय विस्तार मात्र होइन, संस्थागत क्षमता पनि हो। सुदृढ वित्तीय अवस्था, अनुभवी व्यवस्थापन टोली, दक्ष जनशक्ति, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा छिटोछरितो दाबी भुक्तानी प्रक्रियाले ग्राहकको विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्। साथै, प्रविधिमैत्री सेवा प्रणालीको विकास र अन्तर्राष्ट्रिय अभ्यासअनुसार व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाइएकाले सेवा प्रवाह अझ प्रभावकारी बनेको कम्पनीको दाबी छ।
बीमा क्षेत्रको विश्वसनीयता कायम राख्न दाबी भुक्तानी प्रक्रियालाई सरल, पारदर्शी र छिटो बनाइएको कम्पनीले जनाएको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकलाई सहज सेवा उपलब्ध गराउने प्रयासलाई पनि कम्पनीले निरन्तरता दिएको छ। यसले ग्राहक सन्तुष्टि बढाउन र बीमा सेवाप्रति सकारात्मक धारणा निर्माण गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।
यस उपलब्धिका अवसरमा कम्पनीले आफ्ना ग्राहक, अभिकर्ता, पुनर्बीमक, शेयरधनी, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। कम्पनीले सबै पक्षको साथ, सहयोग र विश्वासकै कारण यो सफलता सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि सेवा गुणस्तर सुधार, नवीन बीमा उत्पादन विकास, सुशासन प्रवर्द्धन तथा प्रविधिमा आधारित सेवा विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले भविष्यमा पनि नेपाली बीमा क्षेत्रको दिगो विकास, बीमाको दायरा विस्तार तथा नागरिकको आर्थिक सुरक्षालाई सुदृढ बनाउन अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्यसहित आफ्नो सेवा र व्यवसायलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।


