नेपाल र बेलायतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले लन्डनमा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम–२०२६ सम्पन्न भएको छ। नेपाली राजदूतावासद्वारा आयोजित उक्त फोरममा नीति निर्माता, उद्योगी, लगानीकर्ता, प्रविधि विज्ञ, विकास साझेदार तथा बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहित १५० भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो। सहभागीहरूले दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
फोरमका क्रममा दुई महत्वपूर्ण समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको छ। पहिलो सम्झौता वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच तथा दोस्रो वेस्ट लन्डन चेम्बर अफ कमर्स र नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीबीच सम्पन्न भएको हो। यी सम्झौताले व्यापारिक संस्थाहरूबीच संस्थागत सम्बन्ध सुदृढ गर्दै लगानी, व्यवसाय विस्तार तथा दीर्घकालीन आर्थिक साझेदारीलाई नयाँ गति दिने विश्वास गरिएको छ।
कार्यक्रममा परराष्ट्रमन्त्री डा. शिशिर खनालले पठाएको सन्देशमा नेपाल सरकार विदेशी लगानी आकर्षित गर्न, अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत आर्थिक विकासलाई तीव्र बनाउने दिशामा प्रतिबद्ध रहेको उल्लेख गरिएको थियो। उनले जलविद्युत्, नवीकरणीय ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधि, डिजिटल सेवा, उत्पादन तथा पूर्वाधार निर्माणका क्षेत्रमा बेलायती लगानीकर्तालाई नेपालले खुला रूपमा स्वागत गर्ने नीति अवलम्बन गरेको जानकारी दिएका थिए। नेपाललाई विश्व अर्थतन्त्रसँग अझ सशक्त रूपमा जोड्न बेलायतसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि सन्देशमा उल्लेख गरिएको थियो।
नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानीका विविध सम्भावना रहेको उल्लेख गर्दै सूचना प्रविधि, डिजिटल सेवा र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा नेपाली जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता प्रदर्शन गरिरहेको बताए। उनले बेलायत नेपालको डिजिटल रूपान्तरण तथा प्रविधि विकासमा विश्वसनीय साझेदार बन्न इच्छुक रहेको धारणा व्यक्त गरे।
बेलायती सांसद एलेक्स बेकरले नेपाललाई अब केवल विकास सहायता प्राप्त गर्ने मुलुकका रूपमा नभई समान हैसियतको आर्थिक साझेदारका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याइन्। उनले शिक्षा, अनुसन्धान, प्रविधि, उद्यमशीलता तथा व्यापारका क्षेत्रमा दुवै देशबीच व्यावहारिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्।
फोरममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष कुल आचार्यले बेलायतमा रहेका नेपाली व्यवसायी तथा लगानीकर्तालाई नेपालका जलविद्युत्, पर्यटन, उत्पादनमूलक उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानी गर्न आग्रह गरे। उनका अनुसार नेपाल दक्षिण एसियाका दुई ठूला अर्थतन्त्र चीन र भारतबीच रहेको रणनीतिक स्थानका कारण अन्तर्राष्ट्रिय लगानीका लागि आकर्षक गन्तव्य बन्न सक्ने क्षमता राख्छ।
त्यसैगरी, नेपाल ब्रिटेन चेम्बर अफ कमर्सका अध्यक्ष डा. रोशन राठी, ब्रिटेन–नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष बिराज भट्ट तथा वेस्ट लन्डन चेम्बर अफ कमर्सका पदाधिकारीहरूले हाल सम्पन्न भएका सम्झौताले निजी क्षेत्रबीचको सहकार्यलाई संस्थागत बनाउँदै व्यापार र लगानीका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे।
फोरममा द्विपक्षीय व्यापार विस्तार, लगानी सहजीकरण, डिजिटल अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता, प्रविधि हस्तान्तरण, आउटसोर्सिङ सेवा तथा बेलायतस्थित नेपाली समुदायको आर्थिक योगदानलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो। साथै, नेपालमा लगानीका सम्भावना र नीतिगत सुधारबारे प्रस्तुतीकरण पनि गरिएको थियो।
सहभागीहरूले लगानी प्रक्रियालाई सरल बनाउने, नीतिगत स्थायित्व कायम गर्ने, निजी क्षेत्र र सरकारबीच नियमित संवाद बढाउने तथा अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ बनाउने दिशामा निरन्तर पहल आवश्यक रहेको निष्कर्ष निकालेका छन्। उनीहरूको विश्वास छ कि यस्ता पहलले नेपाल र बेलायतबीच दीर्घकालीन, विश्वासिलो र पारस्परिक लाभमा आधारित आर्थिक सम्बन्ध निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।


