दक्षिण कोरियाको श्रम बजारमा ई-७ भिसामार्फत रोजगारीका अवसर खोजिरहेका नेपाली सीपयुक्त श्रमिकका लागि सरकारले महत्वपूर्ण पहल सुरु गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले यससम्बन्धी लामो समयदेखिको प्रक्रियागत अन्योल अन्त्य गर्ने उद्देश्यसहित आवश्यक कानुनी प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ।
मन्त्रालयका अनुसार दक्षिण कोरियामा दक्ष जनशक्तिको मागलाई व्यवस्थित रूपमा सम्बोधन गर्न वैदेशिक रोजगारसम्बन्धी विद्यमान कानुनी व्यवस्था अनुरूप श्रमिक पठाउने प्रक्रिया सञ्चालन गरिनेछ। यसका लागि वैदेशिक रोजगार ऐन, २०६४ र अन्य प्रचलित कानुनको पूर्ण पालना गर्दै सम्पूर्ण प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
यो निर्णय परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन, दक्षिण कोरियास्थित नेपाली कूटनीतिक संयन्त्रमार्फत प्राप्त जानकारी तथा कोरियाली पक्षबाट आएको कूटनीतिक नोटका आधारमा गरिएको हो। साथै, यस विषयमा उच्च अदालत पाटनबाट जारी भएको आदेशलाई समेत मन्त्रालयले निर्णयको आधार बनाएको जनाएको छ। मन्त्रीस्तरबाट असार १५ गते भएको निर्णयपछि आवश्यक समन्वयका लागि परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र पठाइएको हो।
नयाँ व्यवस्थाअनुसार ई-७ भिसामा नेपाली श्रमिक पठाउँदा रोजगारदाताबाट प्राप्त मागपत्र सम्बन्धित गन्तव्य मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि मात्रै वैदेशिक रोजगारसम्बन्धी अन्य प्रशासनिक प्रक्रिया अगाडि बढाइनेछ। यस व्यवस्थाले श्रमिक पठाउने प्रक्रिया पारदर्शी, कानुनी र व्यवस्थित हुने सरकारको विश्वास छ।
मन्त्रालयले वैदेशिक रोजगार विभागलाई पनि आवश्यक प्रशासनिक तयारी गर्न निर्देशन दिएको छ। विभागले श्रम स्वीकृति, कागजात प्रमाणीकरण तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन आवश्यक कार्ययोजना तयार पार्नेछ। साथै, दक्षिण कोरियाको सियोलस्थित नेपाली राजदूतावासलाई पनि यस निर्णयबारे जानकारी गराइएको छ, ताकि मागपत्र प्रमाणीकरणलगायतका प्रक्रिया प्रभावकारी रूपमा सञ्चालन गर्न सकियोस्।
ई-७ भिसा विशेष प्रकारको दक्ष जनशक्तिका लागि प्रदान गरिने कार्य भिसा हो। यसअन्तर्गत प्राविधिक, उत्पादन, निर्माण, सूचना प्रविधि, जहाज निर्माण, वेल्डिङ, मेसिन सञ्चालनलगायत विभिन्न क्षेत्रमा दक्ष कामदारलाई दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध हुने गर्दछ। नेपालबाट पनि लामो समयदेखि यस्ता सीपयुक्त श्रमिकलाई यो माध्यमबाट पठाउने प्रयास भए पनि स्पष्ट कानुनी प्रक्रिया र प्रशासनिक संयन्त्र नहुँदा कार्यान्वयनमा कठिनाइ देखिएको थियो।
सरकारको पछिल्लो निर्णयसँगै अब निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीमार्फत पनि कानुनी प्रक्रिया पूरा गरेर दक्ष नेपाली श्रमिकलाई दक्षिण कोरिया पठाउने बाटो खुल्ने अपेक्षा गरिएको छ। यसले रोजगारीका नयाँ अवसर सिर्जना गर्नुका साथै वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
मन्त्रालयले आगामी दिनमा सम्बन्धित निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाउँदै ई–७ भिसासम्बन्धी प्रक्रिया सहज, पारदर्शी र कानुनसम्मत रूपमा कार्यान्वयन गर्ने तयारी गरेको जनाएको छ।


