नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको युवा संगठन सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले अटोमोबाइल उद्योगको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे केन्द्रित विशेष ‘सीईओ फोरम’ आयोजना गरेको छ। ‘इन्जिनभन्दा पर : नेपालको अटोमोबाइल उद्योगको कथा’ शीर्षकमा सम्पन्न कार्यक्रममा उद्योग, नीति तथा निजी क्षेत्रका प्रतिनिधिबीच नेपालको अटोमोबाइल क्षेत्रलाई थप प्रतिस्पर्धी र दिगो बनाउन आवश्यक सुधारका विषयमा विस्तृत छलफल भएको थियो।
कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएका संरचनागत चुनौती, उद्योगमैत्री वातावरण निर्माण, लगानी प्रवर्द्धन तथा अटोमोबाइल क्षेत्रको दीर्घकालीन विकासका सम्भावनाबारे विभिन्न दृष्टिकोण प्रस्तुत गरिएका थिए। सहभागीहरूले उद्योगको विकास केवल सवारी साधनको बिक्रीसँग मात्र सम्बन्धित नभई उत्पादन, पूर्वाधार, प्रविधि, ऊर्जा, कर नीति र उपभोक्तामैत्री वातावरणसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय भएको धारणा व्यक्त गरेका थिए।
छलफलमा सीजी होल्डिङ्सका प्रबन्ध निर्देशक करण चौधरी, भोइथकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य तथा साइमेक्स इंक प्रालिका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ प्यानलिस्टका रूपमा सहभागी थिए। उनीहरूले क्रमशः मारुती, टोयोटा र बीवाईडी ब्रान्डसँग काम गर्दाको अनुभवका आधारमा नेपाली अटोमोबाइल बजारको अवस्था, उपभोक्ताको बदलिँदो रुचि, विद्युतीय सवारीसाधनको बढ्दो आकर्षण तथा व्यवसाय सञ्चालनमा देखिएका चुनौतीबारे आफ्नो धारणा राखेका थिए।
प्यानल छलफलको सहजीकरण त्रिवेणी ग्रुपका निर्देशक साकेत संघाईले गरेका थिए। उनले उद्योगका प्रतिनिधिबीच समसामयिक विषयमा विचार आदान–प्रदान गराउँदै बजारको बदलिँदो स्वरूप र नीतिगत सुधारको आवश्यकतामाथि केन्द्रित संवाद सञ्चालन गरेका थिए।
कार्यक्रमको प्रारम्भमा सीएनआईवाइईएफकी नेटवर्क एन्ड कम्युनिकेसन सभापति साइनी खेतानले फोरमको उद्देश्य र अवधारणाबारे जानकारी गराउँदै उद्योग, सरकार र निजी क्षेत्रबीच रचनात्मक संवाद विस्तार गर्नु आवश्यक रहेको बताएकी थिइन्। यस्ता कार्यक्रमले युवा उद्यमीलाई नीति निर्माणसँग जोड्ने तथा उद्योग क्षेत्रमा देखिएका समस्याको समाधान खोज्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन्।
छलफलका क्रममा नेपालमा अटोमोबाइल उद्योगले सामना गरिरहेका कानुनी जटिलता, कर प्रणाली, आयातसम्बन्धी व्यवस्था, पूर्वाधार विकास, प्रविधिको प्रयोग तथा औद्योगिक वातावरण सुधारका विषयमा पनि गहन बहस भएको थियो। सहभागीहरूले नीतिगत स्थिरता, पारदर्शी नियम, दीर्घकालीन योजना तथा निजी क्षेत्रसँगको सहकार्यलाई उद्योग विस्तारका लागि अपरिहार्य शर्तका रूपमा औँल्याएका थिए।
कार्यक्रमको अर्को आकर्षण खुला प्रश्नोत्तर सत्र थियो। यस क्रममा उत्पादन, प्रविधि, सेवा तथा विभिन्न व्यवसायिक क्षेत्रका प्रतिनिधिहरूले प्यानलिस्टसँग प्रत्यक्ष संवाद गर्दै बजारको वर्तमान अवस्था, लगानीको वातावरण, व्यवसाय सञ्चालनका व्यावहारिक चुनौती तथा भावी सम्भावनाबारे जिज्ञासा राखेका थिए। प्यानलिस्टहरूले आफ्ना अनुभव साझा गर्दै बदलिँदो प्रविधिसँगै उद्योगले नवीन सोच, दक्ष जनशक्ति र स्पष्ट नीतिगत दिशाको आवश्यकता रहेको उल्लेख गरेका थिए।
फोरममा सहभागीहरूले नेपालको अटोमोबाइल क्षेत्रलाई केवल व्यापारको रूपमा नभई रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण, हरित ऊर्जा प्रवर्द्धन र औद्योगिक विकाससँग जोडेर हेर्नुपर्ने आवश्यकता औँल्याए। उनीहरूको भनाइमा सरकार र निजी क्षेत्रबीच विश्वासमा आधारित सहकार्य, समयानुकूल नीति तथा लगानीमैत्री वातावरण निर्माण गर्न सके अटोमोबाइल उद्योगले राष्ट्रिय अर्थतन्त्रमा अझ प्रभावकारी योगदान पुर्याउन सक्छ। कार्यक्रमले उद्योग क्षेत्रका सरोकारवालाबीच विचार आदान–प्रदानको साझा मञ्च उपलब्ध गराउँदै भविष्यका नीतिगत सुधार र सहकार्यका सम्भावित दिशाबारे सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।


