Banijya News

पूँजीबजारमा नयाँ मोड : सेबोनले सर्ट सेलिङ प्रणाली छिट्टै लागू गर्ने

1
1.1K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजारमा लगानीकर्तालाई बजारको उतारचढाव दुवै अवस्थाबाट प्रतिफल आर्जन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यसहित ‘सर्ट सेलिङ’ प्रणाली कार्यान्वयनको तयारी अघि बढाएको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबार बसेको बैठकमा उक्त जानकारी दिएका हुन्।

अध्यक्ष भट्टका अनुसार नेपालमा हालसम्म पूँजीबजारलाई केवल मूल्य बढ्ने माध्यमका रूपमा हेरिने प्रवृत्ति रहेको छ। यही सोचका कारण बजार घट्नेबित्तिकै नियामक निकायमाथि अनावश्यक दबाब सिर्जना हुने गरेको उनको भनाइ थियो। उनले अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुनै पनि पूँजीबजार सधैं उकालो लागिरहन नसक्ने भएकाले बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने संरचना आवश्यक भएको बताए।

उनले सेबोनको प्राथमिक जिम्मेवारी बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्नु रहेको स्पष्ट पारे। बजार बढ्दा वा घट्दा त्यसको सम्पूर्ण जिम्मेवारी नियामक निकायमाथि थोपर्नु उचित नहुने उनको धारणा थियो।

भट्टले नेपालमा सूचकांक जतिसुकै माथि पुगे पनि अझै बढ्नुपर्ने अपेक्षा कायम रहने मानसिकता रहेको उल्लेख गरे। उनका अनुसार तीन हजार, साढे तीन हजार वा पाँच हजार बिन्दु पुगेपछि पनि लगानीकर्ताको अपेक्षा समाप्त हुँदैन। तर विश्वका कुनै पनि शेयर बजार निरन्तर उकालो मात्र लाग्ने उदाहरण नरहेको उनले बताए।

उनका अनुसार सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार ओरालो लाग्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। त्यसपछि मूल्य घटेपछि सोही शेयर कम मूल्यमा खरिद गरी फिर्ता गर्दा बिक्री र खरिद मूल्यबीचको अन्तर नै नाफाका रूपमा प्राप्त हुनेछ। यसले बजार घटेको अवस्थालाई पनि लगानीको अवसरमा रूपान्तरण गर्ने उनको विश्वास छ।

उदाहरण प्रस्तुत गर्दै उनले ५० रुपैयाँमा सापटी लिएको शेयर बिक्री गरेर पछि मूल्य ३० रुपैयाँमा झरेपछि पुनः खरिद गरी फिर्ता गरेमा प्रतिशेयर २० रुपैयाँ बराबरको लाभ लिन सकिने बताए। त्यसैगरी बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले हालको अभ्यासअनुसार शेयर खरिद गरेर मूल्य वृद्धि भएपछि बिक्री गरी आम्दानी गर्न सक्ने व्यवस्था यथावत् रहने उनले जानकारी दिए।

अध्यक्ष भट्टले यस व्यवस्थाले बजार बढ्नैपर्छ भन्ने एकतर्फी मनोविज्ञान अन्त्य हुने विश्वास व्यक्त गरे। लगानीकर्ताले बजारको अवस्था, कम्पनीको वित्तीय स्थिति तथा आफ्नै अध्ययन–विश्लेषणका आधारमा निर्णय गर्ने संस्कृतिको विकास हुने उनको भनाइ थियो। यसबाट बजार अझ परिपक्व, प्रतिस्पर्धी र सन्तुलित बन्ने अपेक्षा गरिएको उनले बताए।

बैठकमा उनले बजारमा फैलिने हल्ला तथा अफवाह नियन्त्रणका लागि पनि आवश्यक नीतिगत सुधारको तयारी भइरहेको जानकारी दिए। पछिल्लो समय सम्पत्ति छानबिन, निरीक्षण तथा वित्तीय अपराधसम्बन्धी सरकारी कारबाहीका कारण केही लगानीकर्तामा अन्योल र मनोबल कमजोर भएको गुनासो आएको उल्लेख गर्दै यस्ता विषयमा सम्बन्धित सरकारी निकायसँग समन्वय गरेर अघि बढिने बताए।

अध्यक्ष भट्टले पूँजीबजारको दीर्घकालीन सुधारलाई केन्द्रमा राखेर ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरिएको जानकारी दिए। साथै आगामी आर्थिक वर्ष २०८३/८४ मा कार्यान्वयन गरिने कार्यक्रमलाई मार्गदर्शन गर्ने उद्देश्यले पूँजीबजार नीति पनि सार्वजनिक गरिएको उनले बताए। उनका अनुसार यी नीति तथा सुधार कार्यक्रमले नेपालको पूँजीबजारलाई थप व्यवस्थित, विश्वसनीय र अन्तर्राष्ट्रिय अभ्याससँग मेल खाने दिशामा अघि बढाउन सहयोग पुर्‍याउनेछन्।

1

Scroll to Top