नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत (साबिककै मूल्य) राख्ने निर्णय गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थको मूल्य स्थिर रहेको जानकारी दिएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीबमोजिम मूल्य समायोजन हुन सकेको छैन । निगम सञ्चालक समितिको आजको निर्णयअनुसार नयाँ मूल्यसूची आजदेखि लागू हुने छ । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङलाई राखिएको छ भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन । आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ । त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ । यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।


