चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित लिन्जी सहरमा १५औँ चीन-तिब्बत हिमालय सीमापार अन्तर्राष्ट्रिय सहकार्य मञ्च आज औपचारिक रूपमा सुरु भएको छ। हिमालय क्षेत्रका मुलुकबीच आपसी सहकार्य, दिगो विकास, व्यापार, पूर्वाधार, पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित मञ्चमा विभिन्न देशका सरकारी प्रतिनिधि, नीति निर्माता र विज्ञहरूको सहभागिता रहेको छ।
मञ्चको उद्घाटन सत्रको अध्यक्षता चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रीय समितिका स्थायी समिति सदस्य तथा तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले गरेका छन्। उनले हिमालय क्षेत्रका देशहरूबीच विश्वास, पारस्परिक लाभ र दीर्घकालीन सहकार्यलाई अझ सशक्त बनाउन संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
नेपालका तर्फबाट प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर मञ्चमा सहभागी भएकी छन्। उनले नेपालको प्रतिनिधित्व गर्दै सीमापार सहकार्य, आर्थिक साझेदारी, पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
नेपाल र चीनबीच पछिल्ला वर्षहरूमा व्यापार, पूर्वाधार विकास, सीमा नाका सञ्चालन तथा पर्यटन प्रवर्द्धनमा सहकार्य विस्तार हुँदै आएको सन्दर्भमा यस मञ्चलाई दुवै देशबीचको सम्बन्ध अझ मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। विशेषगरी हिमालय क्षेत्रको दिगो विकास, जलवायु परिवर्तनका चुनौती, विपद् व्यवस्थापन तथा क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका विषयमा सहभागी राष्ट्रहरूबीच अनुभव आदानप्रदान र सहकार्यका सम्भावनाबारे व्यापक छलफल हुने अपेक्षा गरिएको छ।


