स्वदेशी जुत्ता-चप्पल उद्योगको वर्तमान अवस्था, बजार विस्तार तथा उद्योगमैत्री नीतिगत सुधारका विषयमा आज प्रधानमन्त्री वालेन्द्र शाहले जुत्ता उत्पादक संघका पदाधिकारी तथा प्रतिनिधिसँग उच्चस्तरीय छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने बैठकमा उद्योग क्षेत्रका प्रमुख सरोकारवालाले आफ्ना समस्या, अपेक्षा र सुझाव प्रत्यक्ष रूपमा सरकारसमक्ष राख्ने कार्यक्रम तय गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा जुत्ता उत्पादक संघका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, सचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, कार्यसमिति सदस्य सरोज भट्टराई तथा प्रतिनिधि विदुषी राणाको सहभागिता रहनेछ। बैठकलाई स्वदेशी उत्पादन प्रवर्द्धन र औद्योगिक आत्मनिर्भरता सुदृढ गर्ने दिशामा महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
छलफलको मुख्य एजेन्डा स्वदेशी जुत्ता-चप्पल उद्योगलाई प्रतिस्पर्धी बनाउने, उत्पादन लागत घटाउने, गुणस्तर अभिवृद्धि गर्ने, बजार व्यवस्थापन सुधार गर्ने तथा नेपाली उत्पादनको बजार हिस्सा विस्तार गर्ने विषयमा केन्द्रित रहने जनाइएको छ। साथै आयातित उत्पादनसँग प्रतिस्पर्धा गर्न उद्योगहरूले भोगिरहेका चुनौती, कच्चा पदार्थको उपलब्धता, कर प्रणाली, लगानी वातावरण तथा औद्योगिक नीतिमा आवश्यक सुधारबारे पनि विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।
उद्योगीहरूले पछिल्ला वर्षहरूमा सस्तो मूल्यका आयातित जुत्ता-चप्पल, अवैध आयात, उत्पादन लागत वृद्धि तथा बजार असन्तुलनका कारण स्वदेशी उद्योग दबाबमा परेको बताउँदै आएका छन्। उनीहरूले घरेलु उद्योग संरक्षणका लागि प्रभावकारी बजार अनुगमन, भन्सार प्रणालीको कडाइ, स्वदेशी उत्पादनलाई सरकारी प्राथमिकता तथा निर्यात प्रवर्द्धनका लागि विशेष कार्यक्रम आवश्यक रहेको धारणा राख्दै आएका छन्।
सरकारले पछिल्ला वर्षहरूमा ‘मेक इन नेपाल’ अभियान, आयात प्रतिस्थापन तथा स्वदेशी उत्पादन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आएको छ। यसै सन्दर्भमा जुत्ता उद्योगसँगको आजको संवादलाई औद्योगिक नीति र निजी क्षेत्रबीचको सहकार्यलाई थप बलियो बनाउने प्रयासका रूपमा पनि हेरिएको छ। उद्योग क्षेत्रका जानकारहरूका अनुसार नेपालमा उत्पादन हुने जुत्ता-चप्पलको गुणस्तरमा उल्लेखनीय सुधार भए पनि बजार पहुँच, ब्रान्ड प्रवर्द्धन र लगानी विस्तारमा अझै चुनौती कायम छ।
बैठकमा स्वदेशी उद्योगका लागि सहुलियत कर्जा, आधुनिक प्रविधिको प्रयोग, दक्ष जनशक्ति विकास, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्यक्रमबारे पनि छलफल हुन सक्ने जनाइएको छ। साथै सरकारी निकाय, विद्यालय, सुरक्षा निकाय तथा सार्वजनिक संस्थाहरूमा स्वदेशी जुत्ता-चप्पलको प्रयोग बढाउने सम्भावनाबारे समेत सुझाव प्रस्तुत गरिने अपेक्षा गरिएको छ।
उद्योग क्षेत्रका प्रतिनिधिहरूले सरकारले निजी क्षेत्रसँग नियमित संवादलाई निरन्तरता दिए औद्योगिक वातावरण सुधार हुने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार नीति स्थिरता, कर प्रणालीमा सहजता र उत्पादनमैत्री वातावरण सिर्जना भए स्वदेशी उद्योगले रोजगारी सिर्जना, आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ।


