फिफा विश्वकप २०२६ को अन्तिम चरणमा फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै गोल्डेन बुटको प्रतिस्पर्धामा अग्रता बनाएका छन्। तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध भएको खेलमा दुई गोल र एक असिस्ट गर्दै उनले प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पारेका हुन्।
यस प्रदर्शनसँगै एमबाप्पेको नाममा जारी विश्वकपमा १० गोल र चार असिस्ट पुगेको छ। प्रतियोगितामा दोहोरो अंकमा गोल गर्ने उनी एकमात्र खेलाडी बनेका छन्। अर्कोतर्फ, फाइनलअघि मेस्सीको खातामा आठ गोल र चार असिस्ट रहेको छ। त्यसैले गोल्डेन बुट जित्न मेस्सीले स्पेनविरुद्धको फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यदि उनले त्यसो गर्न सकेनन् भने एमबाप्पे लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडीका रूपमा इतिहासमा नाम लेखाउनेछन्।
एमबाप्पे र मेस्सीबीच विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ। इंग्ल्यान्डविरुद्धको दुई गोलपछि एमबाप्पेले विश्वकपमा आफ्नो कुल गोल संख्या २२ पु¥याएका छन्, जबकि मेस्सी २१ गोलसहित उनको ठीक पछाडि छन्। उल्लेखनीय कुरा के भने एमबाप्पेले यो उपलब्धि केवल तीन संस्करणको विश्वकप खेल्दै हासिल गरेका छन्, जबकि मेस्सीले ६ वटा विश्वकपमा सहभागिता जनाएर यो संख्या पु¥याएका हुन्।
एमबाप्पेको विश्वकप यात्रा निरन्तर प्रभावशाली रहँदै आएको छ। उनले २०१८ को विश्वकपमा चार गोल, २०२२ मा आठ गोल र यस संस्करणमा १० गोल गर्दै आफ्नो गोल गर्ने क्षमता झन् निखारेका छन्। लगातार तीन विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्नुले उनी आधुनिक फुटबलका सबैभन्दा खतरनाक फरवार्डमध्ये एक भएको पुष्टि गरेको छ।
यस संस्करणमा १० गोल पूरा गर्दै एमबाप्पेले अर्को दुर्लभ कीर्तिमान पनि बनाएका छन्। सन् १९७० मा जर्मनीका महान् स्ट्राइकर गेर्ड मुलरले एकै विश्वकपमा १० गोल गरेपछि पहिलो पटक कुनै खेलाडीले एउटै संस्करणमा दोहोरो अंकमा गोल गर्न सफल भएको हो। यस उपलब्धिले एमबाप्पेलाई विश्वकप इतिहासका उत्कृष्ट गोलकर्ताको सूचीमा अझ मजबुत स्थान दिलाएको छ।
विश्वकपका एउटै संस्करणमा धेरै गोल गर्ने खेलाडीहरूको सूचीमा जस्ट फन्टेन, सान्दोर कोचिस, अडेमिर, एउसेबियो, गिलेर्मो स्टाबिले, ब्राजिलका रोनाल्डो र गेर्ड मुलरजस्ता महान् खेलाडीहरूको नाम रहँदै आएको छ। अब एमबाप्पेले पनि त्यो विशिष्ट सूचीमा आफ्नो स्थान अझ बलियो बनाएका छन्।
तेस्रो स्थानको खेलमा इंग्ल्यान्डका जुड बेलिङ्घमले पनि उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। फ्रान्सविरुद्ध गोल गर्दै उनले यस विश्वकपमा आफ्नो सातौं गोल पूरा गरे र एउटै विश्वकप संस्करणमा सबैभन्दा धेरै गोल गर्ने इंग्लिस खेलाडी बने। युवा उमेरमै उनले विश्व फुटबलमा आफ्नो प्रभावशाली उपस्थितिको संकेत दिएका छन्।
अब विश्वकपको सबै ध्यान अर्जेन्टिना र स्पेनबीच हुने फाइनलमा केन्द्रित छ। मेस्सीसामु आफ्नो टोलीलाई विश्वकप उपाधि दिलाउनेसँगै व्यक्तिगत रूपमा गोल्डेन बुटको प्रतिस्पर्धामा फर्कने चुनौती पनि छ। उता एमबाप्पे भने प्रतियोगिता समाप्त भइसकेपछि पनि आफ्नो नाम सर्वाधिक गोलकर्ता र सम्भावित गोल्डेन बुट विजेताका रूपमा सुरक्षित राख्ने अवस्थामा छन्।
व्यक्तिगत कीर्तिमान र टोलीगत सफलताको प्रतिस्पर्धाले विश्वकप २०२६ लाई अझ स्मरणीय बनाएको छ। अब फाइनल खेलले उपाधि विजेतामात्र होइन, यस संस्करणका सबैभन्दा उत्कृष्ट व्यक्तिगत उपलब्धिहरूको पनि अन्तिम टुंगो लगाउनेछ।


