नेपालका निर्यातमुखी उद्योग तथा व्यवसायलाई बेलायती बजारमा थप प्रतिस्पर्धी बनाउने उद्देश्यले ‘बेलायतमा भन्साररहित पहुँचको सम्भावना : बेलायती विकासशील मुलुक व्यापार योजना अन्तर्गत नेपाली निर्यातकर्ताका लागि अवसर’ विषयक अन्तरक्रियात्मक कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। ब्रिटिश व्यापार तथा व्यवसाय विभाग, बेलायती दूतावास काठमाडौं, बेलायत-नेपाल व्यापार प्रवर्द्धन साझेदार तथा नेपाल-ब्रिटेन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, व्यापार विज्ञ, उद्योगी तथा निर्यातकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बेलायतले विकासशील मुलुकका लागि लागू गरेको व्यापार योजनाअन्तर्गत नेपालले पाउने भन्साररहित तथा प्राथमिकतायुक्त बजार पहुँचबारे विस्तृत जानकारी दिइयो। सहभागीहरूले नेपाली उत्पादनलाई बेलायती बजारमा थप प्रभावकारी रूपमा विस्तार गर्न आवश्यक नीतिगत, प्राविधिक तथा व्यावसायिक तयारीका विषयमा छलफल गरेका थिए।
नेपालका लागि बेलायती राजदूत रब फेनले नेपालसँग व्यापार, लगानी र आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने दिशामा बेलायत प्रतिबद्ध रहेको बताए। उनले हालका वर्षहरूमा दुवै देशबीच आर्थिक सम्बन्ध विस्तार भइरहेको उल्लेख गर्दै भन्साररहित व्यापार सुविधाको प्रभावकारी उपयोगले नेपाली उत्पादनको निर्यात वृद्धि, रोजगारी सिर्जना तथा द्विपक्षीय व्यापार सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा दक्षिण एसियाका लागि क्षेत्रीय व्यापार सल्लाहकार एली पार्करले बेलायतको विकासशील मुलुक व्यापार योजनाबारे प्रस्तुति दिँदै नेपालले यस योजनाअन्तर्गत करिब ९९ प्रतिशत योग्य वस्तुमा भन्साररहित प्रवेश सुविधा प्राप्त गरिरहेको जानकारी दिइन्। उनका अनुसार उत्पादनको उत्पत्तिसम्बन्धी नियमलाई पनि थप लचिलो बनाइएकाले नेपालका उद्योगहरूले विभिन्न साझेदार मुलुकबाट कच्चा पदार्थ प्रयोग गरेर पनि निर्यात सुविधा लिन सक्ने अवसर रहेको छ।
छलफलमा गलैँचा, तयारी पोशाक, पश्मिना, ऊनी सामग्री, चिया, हस्तकला, हस्तनिर्मित कागज, प्राकृतिक उत्पादन तथा गृह सजावटका सामग्रीजस्ता नेपाली उत्पादनको बेलायती बजारमा राम्रो सम्भावना रहेको उल्लेख गरियो। साथै निर्यात बढाउन उत्पादनको गुणस्तर सुधार, अन्तर्राष्ट्रिय मापदण्डको पालना, सही वस्तु वर्गीकरण, आवश्यक प्रमाणपत्र र कागजी प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिइयो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङले परम्परागत निर्यात वस्तुसँगै नयाँ उत्पादनको विविधीकरण आवश्यक रहेको बताए। उनका अनुसार नेपाली उद्योगले उत्पादन क्षमता वृद्धि, आधुनिक प्रविधिको प्रयोग, गुणस्तर नियन्त्रण तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गर्न सके बेलायती बजारमा निर्यात उल्लेखनीय रूपमा बढाउन सकिनेछ।
नेपाल–ब्रिटेन उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले पनि व्यापार प्रवर्द्धन, बजार जानकारी आदानप्रदान, व्यवसायीबीच सहकार्य तथा लगानी आकर्षित गर्ने पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विज्ञहरूका अनुसार बेलायतको भन्साररहित सुविधा नेपालका साना तथा मध्यम उद्योगका लागि महत्वपूर्ण अवसर हो। विशेषगरी उच्च मूल्यका हस्तकला, जैविक कृषि उत्पादन, जडीबुटीजन्य सामग्री, विशेष चिया तथा वातावरणमैत्री उत्पादनले बेलायती बजारमा थप सम्भावना बोकेका छन्। तर त्यसका लागि गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र अन्तर्राष्ट्रिय प्रमाणिकरणमा लगानी बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
सरकारी तथ्यांकअनुसार गत आर्थिक वर्षमा नेपालबाट बेलायततर्फ करिब ३ अर्ब १७ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए भने बेलायतबाट नेपालमा ६ अर्ब ४१ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन्। व्यापार घाटा घटाउन र निर्यात वृद्धि गर्न उपलब्ध भन्साररहित सुविधाको प्रभावकारी उपयोग गर्नु अहिलेको प्रमुख आवश्यकता भएको सरोकारवालाहरूले बताएका छन्। उनीहरूको विश्वास छ कि निजी क्षेत्र र सरकारबीचको समन्वय बलियो बनाएर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बनाउन सकिनेछ।


