भक्तपुर क्यान्सर अस्पतालको कर्मचारीको सेवाको सर्त र सुबिधासम्बन्धी विनियमावलीका सम्बन्धमा ब्यापक विवाद भएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले फिर्ता पठाएको छ ।
भक्तपुर क्यान्सर अस्पताल विकास समितिको बैठकले अल्पमतले निर्णय गरेर स्वीकृतिका लागि मन्त्रालय पठाएको विनियमावलीका सम्बन्धमा बोर्ड सदस्यहरुबाटै बिरोध गरेपछि मन्त्रालयले पुनः छलफलका लागि अस्पतालमै फिर्ता पठाएको छ ।
फिर्ता भएको विनियमावली पुनः पारित गरी पठाउनका लागि अध्यक्ष श्रीकृष्ण श्रेष्ठले आइतबार बिहान ८ बजे अस्पताल परिसरमा अस्पताल बोलाउन सदस्य सचिव तथा कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेलाई निर्देशन दिएका थिए । चालिसेलाई प्रशासन प्रमुख राजाराम तजलेको समूहले शुक्रबार कार्यकक्षमै घेराउ गरी विनियमावली मन्त्रालयमा हस्ताक्षर गरी पठाउन दबाब दिएका थिए ।
यसअघि अध्यक्ष श्रेष्ठले समितिको निर्णय भन्दै बिनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएका थिए । बोर्डको निर्णयको माइन्यूटका आधारमा कार्यान्वयनका लागि सदस्य सचिवले परिपत्र गर्ने परिपाटी छ । शुक्रबार तजले समूहले आफैंले पत्र तयार गरी चालिसेलाई हस्ताक्षर गर्न दबाब दिएका थिए । उनले नमानेपछि कार्यकारी निर्देशकको राजीनामाको पत्र तयार गरी त्यसमा नै हस्ताक्षर गर्न चर्को दबाब दिएपछि उनले आइतबारको बिहान बस्ने बैठकबाट जसरी भए पनि विनियमावली पास गरी मन्त्रालयमा पत्राचार सहमति भएपछि उनलाई कार्यकक्षबाट मुक्त गरिएको स्रोतको दाबी छ ।
चालिसेले अध्यक्षको निर्देशनमा आइतबार बिहान बैठक राखेको सूचना पाएपछि शुक्रबारै बोर्डका ६ जना सदस्यले उक्त बैठकमा उपस्थित हुन नसक्ने जनाउ दिंदै साउन ११ गते सोमबार मन्त्रालयमा बैठक बोलाउन माग गरेका छन् । सदस्यहरु संगीता फुँयाल, प्राडा. अभिमन्यू झा, प्राडा प्रदीप बैद्य, सम्पदा श्रेष्ठ, सुजाता कार्की र महेश श्रेष्ठले संयुक्त हस्ताक्षर गरी उपत्यका बाहिर भएका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी पत्र मार्फत् गराउँदै उक्त बैठक साउन ११ मा बोलाउन माग गरेका छन् । सो सम्बन्धी पत्र शुक्रबारै क्यान्सर अस्पतालमा दर्ता भइसकेको छ ।
भक्तपुर क्यान्सर अस्पतालको ११ सदस्यीय बोर्डमा ६ जना सदस्यले लिखित रुपमै अनुपस्थित हुन जनाउ दिइसकेका र चालिसे पनि उक्त बैठकमा सहभागी नभएपछि बैठक बस्न सकेन ।
अध्यक्ष श्रीकृष्ण श्रेष्ठ पूर्वनिर्धारित समयमै बैठकस्थल पुगेका थिए । कार्यकारी निर्देशकसहित ७ जना सदस्य अनुपस्थित भएपछि कोरम नै पुग्न नसकेर बस्न सकेन । अध्यक्ष श्रीकृष्ण श्रेष्ठले बैठक कार्यकारी निर्देशक र ६ जना सदस्य नआएपछि बस्न नसकेको स्वीकार्दै अर्को बैठक कहिले बस्ने हो निश्चित नभएको बताए । आफू प्रशासन प्रमुख राजाराम तजलेको म्यादथपको लागि ल्याउन लागिएको विनियमावली स्वीकृत गर्नुपर्छ भन्ने पक्षमा नरहेको पनि उनले बताए । अन्य बिषय कार्यकारी निर्देशकलाई सोध्नू भन्दै पन्छिएका छन् ।
साउन ९ गतेबाट ५८ बर्षे उमेरहदले अनिवार्य अवकाशमा जान लागेका तजलेलाई जसरी भए पनि २ बर्ष जागिरमा थमौती गर्नकै लागि अध्यक्ष श्रेष्ठ लगायतको एक समूह नांगो रुपमा उत्रिएको छ । बिनियमावली स्वीकृत भए २ बर्ष तजलेको जागिरमात्र जोडिनेछैन, उनले थप १५–१६ लाख रुपैयाँ उपदानबापत पाउनेछन् । आफ्नो पक्षमा बिनियमावली पारित गराउनका लागि निकै जोडबलका साथ लागेका तजलेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीमार्फत् स्वास्थ्य मन्त्रालयमा लबिङ गरिरहेको समेत स्रोतको दाबी छ ।


