साताको पहिलो कारोबार दिन नेपाली सेयर बजारले उत्साहजनक सुरुआत गरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले बढेर २ हजार ७१९.२७ विन्दुमा पुगेको छ। यससँगै ठूला तथा बलिया कम्पनीहरूको प्रदर्शन मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले वृद्धि हुँदै ४७२.६० विन्दुमा कायम भएको छ। बजारमा लगातार दोस्रो कारोबार दिन सुधार देखिएपछि लगानीकर्ताको मनोबल पनि केही मजबुत बनेको छ।
आज नेप्सेमा सूचीकृत ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। बजार बढे पनि कारोबार रकम अपेक्षाअनुसार विस्तार हुन नसकेको विश्लेषण गरिएको छ।
नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष हरि केसीका अनुसार बजारमा सुधार आउनुका पछाडि धेरै आधार तयार भइसकेका छन्। उनका अनुसार पछिल्लो समय बजार निकै घटेर न्यून विन्दुमा पुगेकाले थप गिरावटको सम्भावना कम थियो। त्यसैले लगानीकर्ताले पुनः खरिद बढाउँदा बजार उकालो लागेको हो। साथै, सरकार र सम्बन्धित निकायहरूबाट पुँजी बजारप्रति सकारात्मक संकेत आउन थालेकाले लगानीकर्ताको विश्वास क्रमशः फर्किन थालेको उनको भनाइ छ।
केसीले असार मसान्तको वित्तीय दबाब समाप्त भएपछि बजारमा तरलता केही सहज भएको र लगानीकर्ताको सक्रियता पनि बढ्न थालेको बताए। यद्यपि बजारको वृद्धिको अनुपातमा कारोबार रकम अझै सन्तोषजनक नरहेको उनको धारणा छ। उनका अनुसार साउनदेखि लागू भएको बढेको पुँजीगत लाभकरले पनि केही लगानीकर्तालाई कारोबारमा सतर्क बनाएको छ।
उनले अहिलेको कारोबार विगतको तुलनामा बढी वास्तविक भएको उल्लेख गर्दै कृत्रिम रूपमा बजार चलाउने प्रवृत्ति घट्दै गएको बताए। पहिले विभिन्न समूह बनाएर सेयर मूल्य प्रभावित पार्ने गतिविधि बढी हुने गरे पनि अहिले त्यस्तो अभ्यासमा कमी आएको उनको भनाइ छ। अब बजारलाई दीर्घकालीन रूपमा चलायमान बनाउन लगानीकर्ताले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनले जोड दिए।
आज कारोबार भएका १३ उपसमूहमध्ये १२ समूहको परिसूचक बढ्यो भने म्युचुअल फन्ड समूह मात्रै ०.०२ प्रतिशतले घट्यो। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.२१ प्रतिशतले उकालो लाग्यो। त्यस्तै अन्य समूह २.८१ प्रतिशत, जलविद्युत् २.७९ प्रतिशत, होटल तथा पर्यटन १.९८ प्रतिशत, विकास बैंक १.४८ प्रतिशत, व्यापार १.१४ प्रतिशत, फाइनान्स ०.९३ प्रतिशत, जीवन बीमा ०.८४ प्रतिशत, बैंकिङ ०.५५ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र लघुवित्त समूह ०.३७ प्रतिशतले बढेका छन्।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी अग्रस्थानमा रह्यो। यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँ, रिडी पावरको २० करोड ६६ लाख रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको १९ करोड ८ लाख रुपैयाँ तथा नेशनल हाइड्रोपावरको १५ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
सेयर मूल्य वृद्धितर्फ एभरेष्ट कलर लिमिटेड र रिज लाइन इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी श्रीनगर एग्रिटेकको सेयर मूल्य १०.९५ प्रतिशत, सोलु हाइड्रोपावरको ९.५६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको ९.३१ प्रतिशतले बढेको छ।
यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.८६ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बन्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ६.८५ प्रतिशत तथा लक्ष्मी उन्नति कोषको मूल्य ५.१५ प्रतिशतले घटेको छ। समग्रमा, साताको पहिलो कारोबार दिन बजारमा सकारात्मक वातावरण देखिए पनि आगामी दिनमा कारोबार रकम र लगानीकर्ताको सक्रियताले बजारको दिशा निर्धारण गर्ने विश्लेषण गरिएको छ।


