Banijya News

कीर्तिपुर कार आगलागी रहस्यः जलेर मृत्यु हुने व्यक्तिको खुल्यो बास्तविकता

1
1.1K Shares

काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मृतक ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठ हुन्। उनी मूल घर काठमाडौंको नरदेवी भए पनि पछिल्लो समय कीर्तिपुर-ट्याङ्लाफाँट क्षेत्रमा बसोबास गर्दै आएका थिए। परिवारका सदस्यले शवको सनाखत गरेपछि प्रहरीले मृतकको औपचारिक पहिचान पुष्टि गरेको हो।

घटना मंगलबार दिउँसो कीर्तिपुरको चाँदनी चोक नजिक भएको थियो। श्रेष्ठले चलाइरहेको बा.५ च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएपछि स्थानीयवासीले धुवाँ र आगो देखेर प्रहरी तथा दमकललाई खबर गरेका थिए। दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए पनि त्यसबेलासम्म कार पूर्ण रूपमा जलेको थियो। कारभित्र रहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनापछि कारको प्राविधिक अवस्था, आगलागीको सम्भावित कारण तथा घटनाको प्रकृतिबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। प्रारम्भिक अनुसन्धानमा आगो कसरी सुरु भयो भन्ने स्पष्ट हुन नसकेको र विद्युतीय प्रणालीमा खराबी, इन्धन चुहावट वा अन्य सम्भावित कारणबारे प्राविधिक परीक्षण भइरहेको जनाइएको छ। अनुसन्धान टोलीले कारको अवशेष संकलन गरी आवश्यक फरेन्सिक परीक्षणको प्रक्रिया अघि बढाएको छ।

मृतक श्रेष्ठको शव पोस्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको वास्तविक कारणबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा उक्त कार २०६२ साल कात्तिक २७ गते नबिल बैंकबाट ऋण सुविधा लिएर किस्ताबन्दीमा खरिद गरिएको विवरण पनि खुलेको छ। यद्यपि कारको स्वामित्वसम्बन्धी विवरण र घटनासँग त्यसको कुनै प्रत्यक्ष सम्बन्ध रहेको वा नरहेको विषयमा प्रहरीले हालसम्म कुनै निष्कर्ष सार्वजनिक गरेको छैन।

स्थानीयवासीका अनुसार कारबाट अचानक ठूलो धुवाँ निस्किएपछि केही क्षणमै आगो तीव्र रूपमा फैलिएको थियो। घटनाले आसपासका बासिन्दा त्रसित बनेका थिए भने आगो अन्य सवारी वा घरमा फैलिन नदिन सुरक्षाकर्मीले तत्काल नियन्त्रणको प्रयास गरेका थिए।

1

Scroll to Top