नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री बालेन्द्र साहलाई अहङ्कार र दम्भको राजनीति त्यागेर सहकार्य र समन्वयको बाटो अपनाउन आग्रह गरेका छन्। बीपी कोइराला स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले एक्लै अघि बढ्ने राजनीतिक शैली दीर्घकालीन रूपमा सफल नहुने चेतावनी दिएका हुन्।
सिटौलाले प्रधानमन्त्री साहलाई लक्षित गर्दै बीपी कोइरालाको लोकतान्त्रिक विचारधारालाई स्मरण गराउँदै सत्ता सञ्चालनमा विनम्रता, सहिष्णुता र संवाद आवश्यक रहेको बताए। उनले, “दम्भ र अहङ्कार बोकेर एक्लै हिँड्ने प्रयास नगर्नुस्। ठक्कर लागेपछि उठाउने कोही नहुन सक्छ, त्यस्तो अवस्था आयो भने पनि लोकतान्त्रिक संस्कारका कारण सहयोग गर्न कांग्रेस नै अगाडि आउनुपर्ने अवस्था सिर्जना हुन सक्छ,” भन्दै प्रधानमन्त्रीलाई सचेत गराए।
उनले कांग्रेसमाथि विगतमा भएका आक्रमण, आगजनी, तोडफोड र लुटपाटका घटनाको स्मरण गर्दै त्यस्ता गतिविधिले पार्टी कमजोर नभई अझ सशक्त बनेको दाबी गरे। जेन–जी आन्दोलनका क्रममा पार्टीका संरचना र कार्यकर्तामाथि आक्रमण भए पनि त्यसले कांग्रेसभित्र नयाँ ऊर्जा, चेतना र संघर्ष गर्ने आत्मविश्वास थपेको उनको भनाइ थियो। “हाम्रा घरमा आगो लाग्यो, तोडफोड भयो, लुटपाट भयो, तर कांग्रेस डराएको छैन। बरु त्यसले हामीलाई अझ जागरुक र सशक्त बनाएको छ,” उनले भने।
विशेष महाधिवेशनको प्रसंग उठाउँदै सिटौलाले त्यस प्रक्रियाबाट पार्टीलाई विभाजित गर्ने प्रयास भएको आरोप लगाए। उनले विशेष महाधिवेशनपछि अलग पारिएका नेता–कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा समेट्नुपर्ने माग दोहोर्याउँदै नेतृत्वले यस विषयमा उदारता देखाउनुपर्ने बताए। “हामीले कुनै अस्वाभाविक माग गरेका छैनौँ। विशेष महाधिवेशनपछि बाहिरिएका साथीहरूलाई फेरि पार्टीमा जोडिदिनुस् भनेका मात्र हौँ। यस्तो सामान्य माग पूरा गर्न पनि नेतृत्व किन तयार छैन ?” उनले प्रश्न गरे।
देशको वर्तमान राजनीतिक अवस्था, लोकतान्त्रिक संस्थाहरू र संवैधानिक निकायप्रति चिन्ता व्यक्त गर्दै सिटौलाले संविधानको मूल मर्म नै चुनौतीमा परेको टिप्पणी गरे। न्यायपालिका तथा संवैधानिक आयोगहरू स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न सक्ने वातावरण कमजोर बन्दै गएको उनको भनाइ थियो। उनले संविधानको रक्षा गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता अझ सुदृढ बनाउन आवश्यक रहेको बताए।
सिटौलाले विगतका राजनीतिक आन्दोलन र संघर्षको स्मरण गर्दै देशले अनेक संकट भोगिसकेको उल्लेख गरे। उनले भदौ २४ का घटनाहरू केवल कांग्रेसमाथिको आक्रमण नभई समग्र राष्ट्रकै क्षतिको प्रतीक भएको बताए। लोकतन्त्रलाई संस्थागत गर्दै विकास, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न कांग्रेसभित्रको एकता अपरिहार्य रहेको उनको भनाइ थियो।
उनले नेतृत्वलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षाका लागि सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। कांग्रेस बलियो भए मात्र लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र मुलुकलाई राजनीतिक स्थायित्व तथा समृद्धितर्फ अघि बढाउन सकिने उनको निष्कर्ष थियो।


