Banijya News

सार्वजनिक ऋण ३० खर्ब नजिक : विनिमय दरको दबाबले सरकारको वित्तीय चुनौती थपियो

1
1.1K Shares

नेपालको सार्वजनिक ऋण आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म आइपुग्दा झण्डै ३० खर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार मुलुकको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन खर्ब ८५ करोड रुपैयाँ बढी हो। एक वर्षमै ऋणको आकार उल्लेखनीय रूपमा बढेसँगै यसको भार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत पुगेको छ। यसले आगामी दिनमा सार्वजनिक वित्त व्यवस्थापन सरकारका लागि थप चुनौतीपूर्ण बन्ने संकेत गरेको छ।

कार्यालयका अनुसार ऋण वृद्धिको प्रमुख कारण नयाँ ऋण परिचालन मात्र नभई अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तन पनि हो। विदेशी मुद्राको मूल्य नेपाली रुपैयाँको तुलनामा बढ्दा वैदेशिक ऋणको रुपैयाँमा गणना हुने दायित्व स्वतः बढेको छ। प्रतिवेदनले कुल ऋण वृद्धिको ५५.५१ प्रतिशत हिस्सा विनिमय दरको प्रभावका कारण भएको उल्लेख गरेको छ। अर्थात् नयाँ ऋण नलिँदा पनि विदेशी मुद्रा महँगिँदा सार्वजनिक ऋणको आकार बढ्ने अवस्था सिर्जना भएको हो।

हाल कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ९९ अर्ब ४९ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ भने १३ खर्ब ७५ अर्ब ४२ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ। यसअनुसार कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको छ। वैदेशिक ऋणको अनुपात उच्च रहेकाले विनिमय दरको उतारचढावले सरकारी दायित्वमा प्रत्यक्ष असर पारिरहेको देखिन्छ।

सरकारले गत आर्थिक वर्षमा पाँच खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर वर्षभरमा चार खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ मात्रै ऋण जुटाउन सकिएको छ, जुन लक्ष्यको ७५.०७ प्रतिशत हो। आन्तरिक ऋण परिचालन भने लगभग लक्ष्यअनुसार सफल भएको छ। तीन खर्ब ६२ अर्ब रुपैयाँ उठाउने लक्ष्य रहेकामा तीन खर्ब ५८ अर्ब ६७ करोड रुपैयाँ परिचालन गरिएको छ, जुन लक्ष्यको ९९.०८ प्रतिशत हो।

यसको विपरीत वैदेशिक ऋण परिचालनमा भने अपेक्षित प्रगति हुन सकेन। दुई खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण जुटाउने लक्ष्य राखिएकोमा ८८ अर्ब ५० करोड रुपैयाँ मात्रै प्राप्त भयो, जुन लक्ष्यको ३७.८८ प्रतिशत मात्र हो। विकास साझेदारबाट प्रतिबद्ध रकम समयमै प्राप्त हुन नसक्दा सरकारले आन्तरिक स्रोतमा बढी निर्भर हुनुपरेको देखिएको छ। वर्षभर परिचालन गरिएको कुल ऋणमध्ये ८०.२१ प्रतिशत आन्तरिक स्रोतबाट र १९.७९ प्रतिशत मात्रै वैदेशिक स्रोतबाट जुटाइएको तथ्यांकले देखाएको छ।

ऋण बढेसँगै यसको साँवा र ब्याज भुक्तानीको भार पनि उल्लेखनीय रूपमा बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा ऋण सेवा खर्चका लागि चार खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको थियो। असार मसान्तसम्म तीन खर्ब ८६ अर्ब २२ करोड ७० लाख रुपैयाँ खर्च भइसकेको छ, जुन विनियोजित रकमको ९३.९७ प्रतिशत हो। यसमध्ये तीन खर्ब ११ अर्ब ९४ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा र ब्याजमा तथा ७४ अर्ब २९ करोड रुपैयाँ वैदेशिक ऋणको भुक्तानीमा खर्च भएको छ। कुल ऋण सेवा खर्च जीडीपीको ५.८५ प्रतिशत पुगेको छ, जसमा तीन खर्ब १२ अर्ब ४० करोड रुपैयाँ साँवा र ७३ अर्ब ८२ करोड रुपैयाँ ब्याज भुक्तानीमा गएको छ।

अर्थविद्हरूका अनुसार सार्वजनिक ऋण आफैंमा समस्या होइन, तर ऋण उत्पादनशील क्षेत्रमा लगानी भई त्यसबाट आर्थिक प्रतिफल प्राप्त हुन आवश्यक हुन्छ। कमजोर राजस्व संकलन, अपेक्षाअनुसार विकास खर्च हुन नसक्नु, उच्च बजेट घाटा तथा वैदेशिक ऋणमा बढ्दो विनिमय दरको जोखिमले आगामी वर्ष सरकारमाथि वित्तीय दबाब अझ बढ्न सक्ने देखिन्छ।

1

Scroll to Top