Banijya News

महासंघको वस्तुगत परिषद् गठन : निजी क्षेत्रका साझा एजेन्डा अघि बढाउन सक्रिय भूमिका खेल्ने अपेक्षा

1
1.0K Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निजी क्षेत्रका विभिन्न वस्तुगत संघसंस्थाको प्रतिनिधित्व सुनिश्चित गर्दै नयाँ वस्तुगत परिषद् गठन गरेको छ। परिषद् गठनसँगै नवनियुक्त सदस्यहरूलाई मनोनयनपत्र प्रदान गरिएको छ। महासंघले परिषद्मार्फत उद्योग, व्यापार तथा सेवा क्षेत्रका साझा मुद्दालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ।

बुधबार (साउन ६) महासंघ सचिवालयमा आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले परिषद्ले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी र संगठित रूपमा सरकारसमक्ष प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

वैद्यले उद्योग तथा व्यवसायसँग सम्बन्धित नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण, स्वदेशी उत्पादनको प्रवर्द्धन, निर्यात विस्तार तथा उद्यमी व्यवसायीले भोगिरहेका समस्याको समाधानमा परिषद्ले परिणाममुखी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए। उनले सरकार र निजी क्षेत्रबीच नियमित संवाद तथा समन्वयलाई सुदृढ बनाउन परिषद्को भूमिका महत्त्वपूर्ण रहने बताए।

उनका अनुसार मुलुकको आर्थिक गतिविधि सुस्त रहेको वर्तमान अवस्थामा निजी क्षेत्रको मनोबल बढाउने, लगानी आकर्षित गर्ने र औद्योगिक उत्पादन विस्तार गर्ने विषयमा परिषद्ले साझा रणनीति तयार गरी महासंघलाई नीतिगत सुझाव दिने अपेक्षा गरिएको छ। यसले उद्योग तथा व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रका धारणा एउटै मञ्चबाट समेट्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैबीच, बुधबार बसेको परिषद्को पहिलो बैठकले भक्तबहादुर हमाललाई वस्तुगत परिषद्को उपसभापतिमा मनोनयन गरेको छ। महासंघअन्तर्गत हाल उद्योग, व्यापार, सेवा, पर्यटन, ऊर्जा, निर्माण, कृषि, सूचना प्रविधिलगायत विभिन्न क्षेत्रका १४२ वस्तुगत सदस्य संस्था आबद्ध छन्।

महासंघले नयाँ परिषद्को गठनसँगै निजी क्षेत्रका एजेन्डालाई अझ प्रभावकारी ढंगले अघि बढाउने, नीतिगत सुधारका लागि सरकारसँग सहकार्य गर्ने तथा लगानी र रोजगारी विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरेको छ। उद्योगी–व्यवसायीका साझा हित संरक्षण र मुलुकको आर्थिक पुनरुत्थानमा परिषद्ले सक्रिय भूमिका खेल्ने विश्वास महासंघले व्यक्त गरेको छ।

1

Scroll to Top