एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई सर्वोच्च अदालतले कानुनी मान्यता दिन अस्वीकार गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिनै गरिएको सेयर बिक्री कानुनविपरीत भएको ठहर गर्दै अदालतले कर परीक्षण गर्न, आवश्यक राजस्व असुल गर्न तथा सम्बन्धित निकायलाई कानुनबमोजिम प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । सर्वाेच्च अदालतले एनसेलसँग जोडिएको ८० प्रतिशत सेयर खरिदबिक्री सम्झौता बदर गर्ने मागलाई खारेज गर्दै जारी गरेको आदेशको पूर्ण पाठ सार्वजनिक भएसँगै झन्डै तीन वर्षदेखि जारी सेयर स्वामित्वको यो विवाद अब नियमित प्रशासनिक कार्यबाट नै सल्टने भएको छ । पछिल्लो पटक सर्वोच्च अदालतले एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई कानुनी मान्यता दिन अस्वीकार गर्दै नियामकीय स्वीकृतिविनाको कारोबार कानुनविपरीत भएको ठहर गरेपछि यो प्रकरण फेरि नयाँ मोडमा पुगेको हो ।
सर्वोच्चको ऐतिहासिक फैसला
न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले स्पेक्ट्रलाइट यूके लिमिटेडमार्फत गरिएको एनसेलको ८० प्रतिशत सेयर हस्तान्तरणलाई कानुनी रूपमा वैध मान्न अस्वीकार गरेको हो। अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृतिबिना चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर बिक्री गर्न नपाइने कानुनी व्यवस्था स्पष्ट रूपमा उल्लंघन भएको निष्कर्ष निकालेको छ। यद्यपि अदालतले सेयर खरिद–बिक्री सम्झौता पूर्ण रूपमा बदर गर्ने माग भने अस्वीकार गरेको छ। यसको सट्टा नेपाल दूरसञ्चार प्राधिकरण, ठूला करदाता कार्यालय तथा अन्य सम्बन्धित निकायलाई कर परीक्षण, आवश्यक राजस्व असुली तथा कानुनबमोजिम थप प्रशासनिक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। कानुनविद्हरूका अनुसार यस निर्णयले स्पेक्ट्रलाइटको स्वामित्व दाबी कमजोर बनाएको छ भने मलेसियाली कम्पनी आजियाटाको कानुनी हैसियतसम्बन्धी प्रश्नलाई पनि नयाँ बहसमा ल्याएको छ।
२०८६ पछि सरकारी स्वामित्वको बाटो थप स्पष्ट
दूरसञ्चार ऐन, २०५३ अनुसार ५० प्रतिशतभन्दा बढी विदेशी लगानी भएको दूरसञ्चार कम्पनीको २५ वर्षे अनुमतिपत्र अवधि समाप्त भएपछि कम्पनीका पूर्वाधार, नेटवर्क तथा सम्पत्ति नेपाल सरकारको स्वामित्वमा आउने व्यवस्था छ। एनसेलको लाइसेन्स २०८६ भदौमा समाप्त हुने भएकाले सर्वोच्चको पछिल्लो आदेशले त्यसपछिको स्वामित्व व्यवस्थाबारे कानुनी स्पष्टता थपिएको विश्लेषण गरिएको छ। यसैबीच सरकारले टंकमणि शर्मा नेतृत्वको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको जनाएको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठगी, आपराधिक विश्वासघात तथा अन्य सम्भावित कसुरका विषयमा अनुसन्धान जारी राखेको छ।
स्थापनादेखि नै विवादित स्वामित्व परिवर्तन
एनसेलको सुरुआती नाम स्पाइस नेपाल प्रालि थियो, जुन सन् २००१ मा स्थापना भएको थियो। प्रारम्भिक चरणमा भारतीय कम्पनी र नेपाली व्यवसायिक समूहको लगानी रहेको कम्पनीमा पछि काजकिस्तानको भिसोर समूह प्रवेश गर्यो। त्यसपछि कम्पनीको स्वामित्व पटक–पटक परिवर्तन हुँदै अन्तर्राष्ट्रिय लगानीकर्ताहरूको हातमा पुग्यो। सन् २००८ मा टेलियासोनेराको समूहले बहुमत स्वामित्व लिएपछि कम्पनीको मूल्य तीव्र रूपमा बढ्यो। यही अवधिमा गैरआवासीय नेपाली व्यवसायी डा. उपेन्द्र महतो र निरजगोविन्द श्रेष्ठसँग सम्बन्धित सेयर कारोबारहरू पनि भएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले यी कारोबारमा पुँजीगत लाभकर पूर्ण रूपमा नतिरेको उल्लेख गर्दै थप कर असुली गर्न सुझाव दिएको थियो।
२०१५ को कारोबार : सबैभन्दा ठूलो कर विवाद
एनसेलको इतिहासमा सबैभन्दा विवादास्पद कारोबार सन् २०१५ मा भयो। टेलियासोनेराले आफ्नो ८० प्रतिशत सेयर करिब १ खर्ब ४४ अर्ब ७८ करोड रुपैयाँ मा मलेसियाली कम्पनी आजियाटालाई बिक्री गर्यो। ठूला करदाता कार्यालयले उक्त कारोबारबाट पुँजीगत लाभकर निर्धारण गर्दै सुरुमा ३५ अर्ब ९१ करोड रुपैयाँ कर तोकेको थियो। ब्याज र जरिवाना जोडिँदै जाँदा यो रकम ६० अर्ब ७१ करोड रुपैयाँ पुगेको थियो। टेलियासोनेराले कर तिर्न अस्वीकार गरेपछि विवाद सर्वोच्च अदालतसम्म पुग्यो। अन्ततः सर्वोच्चको आदेशपछि नयाँ लगानीकर्ता आजियाटाबाट कर असुली प्रक्रिया अघि बढाइयो। प्रारम्भिक रूपमा ६३ अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण भए पनि पुनः सर्वोच्चको आदेशपछि जरिवानाको केही हिस्सा हटाइयो। अन्ततः एनसेलले लाभकर, ब्याज र अन्य शुल्कसहित करिब ४७ अर्ब रुपैयाँ सरकारलाई बुझायो, जुन नेपालको कर इतिहासकै सबैभन्दा ठूलो कर असुलीमध्ये एक हो।
अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको विवाद
नेपालमा कर विवाद चलिरहेकै बेला आजियाटा र एनसेलले नेपाल सरकारविरुद्ध अन्तर्राष्ट्रिय लगानी विवाद समाधान केन्द्र (क्ष्ऋक्क्ष्म्) मा ३४८ मिलियन अमेरिकी डलर क्षतिपूर्तिको दाबी गरेका थिए। उनीहरूको दाबी नेपाल–बेलायत लगानी संरक्षण सम्झौताको उल्लंघन भएको भन्ने थियो। तर सन् २०२३ मा आईसीएसआईडीले नेपालको पक्षमा फैसला सुनायो। यसले नेपाललाई ठूलो आर्थिक दायित्वबाट जोगाएको मात्र होइन, अन्तर्राष्ट्रिय लगानी विवादमा नेपालको महत्वपूर्ण कानुनी सफलताका रूपमा पनि हेरिएको छ।
५० मिलियन डलरको नयाँ बिक्री फेरि विवादमा
सन् २०२३ मा आजियाटाले एनसेलको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५० मिलियन अमेरिकी डलर (करिब साढे ६ अर्ब रुपैयाँ) मा बिक्री गर्ने निर्णय गरेपछि फेरि विवाद सुरु भयो।केही वर्षअघि १ खर्ब ४४ अर्ब रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरिएको कम्पनीको बहुमत स्वामित्व अत्यन्त न्यून मूल्यमा बिक्री हुनु स्वाभाविक नभएको भन्दै विभिन्न पक्षले प्रश्न उठाए। छानबिन समितिले पनि कम्पनीको मूल्यांकन, खरिदकर्ताको वित्तीय क्षमता, लगानी स्रोत, क्रस–होल्डिङ तथा स्वामित्व संरचनामाथि विस्तृत अध्ययन गर्न सुझाव दिएको थियो। सम्झौताअनुसार स्पेक्ट्रलाइटले सम्पूर्ण रकम तत्काल नतिरी किस्ताबन्दीमा सन् २०२७ सम्म तिर्ने व्यवस्था गरिएको छ। त्यति मात्र होइन, कम्पनीबाट प्राप्त हुने केही आर्थिक लाभ आजियाटाले निश्चित अवधिसम्म पाउने व्यवस्था रहेको विवरण सार्वजनिक भएपछि कारोबारको वास्तविक उद्देश्यबारे थप प्रश्न उठेका छन्।
छानबिन समितिको गम्भीर निष्कर्ष
टंकमणि शर्मा नेतृत्वको छानबिन समितिले सेयर हस्तान्तरणअघि नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति नलिइएको, कानुनी प्रक्रिया पूरा नगरिएको तथा स्पेक्ट्रलाइटको पृष्ठभूमि पर्याप्त परीक्षण नगरिएको उल्लेख गरेको थियो। समितिले विगतका सबै स्वामित्व परिवर्तन, विदेशी लगानीको स्रोत, भावना सिंह श्रेष्ठसँग सम्बन्धित लगानी संरचना, अफसोर कम्पनीहरूको भूमिका तथा बैंकिङ प्रणालीबाट भएको कर्जा प्रवाहसमेत अनुसन्धान गर्न सिफारिस गरेको थियो। साथै, एनसेलको कर परीक्षण गरी बाँकी कर तथा गैरकर दायित्व यथाशीघ्र टुंग्याउन पनि सुझाव दिएको थियो।
स्मार्ट टेलिकमसँग जोडिएको अर्को विवाद
एनसेलको विवाद स्मार्ट टेलिकमसँग पनि जोडिएको छ। स्मार्ट टेलिकमका प्रारम्भिक लगानीकर्ता र एनसेलसँग सम्बन्धित केही व्यक्ति एउटै समूहसँग जोडिएको आरोप विभिन्न प्रतिवेदनमा उल्लेख गरिएको छ। स्मार्ट टेलिकमले लामो समयसम्म सेवा विस्तार नगरी लाइसेन्स मात्रै होल्ड गरेको आरोप लाग्दै आएको थियो। अन्ततः नवीकरण शुल्क नतिरेपछि कम्पनीको लाइसेन्स खारेज भयो। कम्पनीले सरकारलाई करिब २७ अर्ब रुपैयाँ राजस्व तिर्न बाँकी रहेको विषय सार्वजनिक भइसकेको छ। यससँगै स्मार्ट टेलिकमका सम्पत्तिसम्बन्धी विवादमा सीआईबीले अनुसन्धान गरिरहेको छ। कम्पनीका सम्पत्ति गैरकानुनी रूपमा बिक्री गरिएको आरोपमा केही व्यक्तिविरुद्ध अनुसन्धान अघि बढाइएको छ।
८ करोड लगानी, ६८ अर्बभन्दा बढी रकम विदेश
छानबिन समितिको प्रतिवेदनले अर्को महत्वपूर्ण तथ्य पनि सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार एनसेलमा सुरुआती विदेशी लगानी करिब ८ करोड रुपैयाँ र स्वदेशी लगानी करिब २ करोड रुपैयाँ मात्र रहेको देखिएको छ। तर कम्पनीले सञ्चालन अवधिमा एक खर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरी लाभांश, सेवा शुल्क तथा अन्य शीर्षकमा ६८ अर्ब रुपैयाँभन्दा बढी रकम विदेश पठाएको उल्लेख गरिएको छ। साथै कम्पनीसँग सम्बन्धित ८५ अर्ब रुपैयाँभन्दा बढी कर तथा गैरकर दायित्व विभिन्न निकाय र अदालतमा विचाराधीन रहेको प्रतिवेदनमा उल्लेख छ।


