Banijya News

प्रत्येक नेपालीको थाप्लोमा एक लाखभन्दा बढी ऋण : अर्थतन्त्रमा थपियो दबाब

1
1.1K Shares

नेपालको सार्वजनिक ऋण निरन्तर बढ्दै जाँदा यसको प्रत्यक्ष भार अब प्रत्येक नेपाली नागरिकको काँधमा पनि बढ्दो रूपमा महसुस हुन थालेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका पछिल्ला तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म प्रत्येक नेपालीको थाप्लोमा औसत १ लाख २ हजार ३ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ। सरकारले विकास निर्माण, बजेट घाटा व्यवस्थापन तथा चालु खर्च धान्न आन्तरिक र वैदेशिक स्रोतबाट ऋण लिने क्रम बढाउँदै जाँदा सार्वजनिक ऋणको आकार पनि निरन्तर विस्तार भइरहेको हो।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। आर्थिक वर्षको सुरुआतमा यो ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा करिब ३ खर्ब रुपैयाँभन्दा बढी ऋण थपिएको छ। यस वृद्धिमा नयाँ ऋण परिचालनसँगै विदेशी मुद्राको विनिमय दरमा आएको परिवर्तनले पनि महत्वपूर्ण भूमिका खेलेको छ। अमेरिकी डलरसहित प्रमुख विदेशी मुद्राको मूल्य नेपाली रुपैयाँको तुलनामा बढ्दा वैदेशिक ऋणको रुपैयाँमा गणना हुने दायित्व स्वतः बढेको हो।

हाल नेपालको कुल सार्वजनिक ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०७ प्रतिशत बराबर पुगेको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार यो अनुपात अझै जोखिमपूर्ण तहमा नपुगेको मानिए पनि ऋण वृद्धि निरन्तर जारी रहनु र ऋण सेवा खर्च तीव्र रूपमा बढ्नु भने चिन्ताको विषय बन्न थालेको अर्थशास्त्रीहरू बताउँछन्।

कुल सार्वजनिक ऋणमध्ये १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ भने १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ। यसअनुसार कुल ऋणमा वैदेशिक ऋणको हिस्सा ५३.७७ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.२३ प्रतिशत रहेको छ। वैदेशिक ऋणको अनुपात बढी हुँदा विनिमय दरमा हुने उतारचढावले सरकारी दायित्वलाई थप महँगो बनाउने जोखिम पनि बढेको छ।

गत आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ठूलो रकम खर्च गरेको छ। असार मसान्तसम्म सरकारले ३ खर्ब ८६ अर्ब २२ करोड रुपैयाँ ऋण सेवा खर्च गरेको छ। यसमध्ये ३ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ साँवा भुक्तानीमा तथा ७३ अर्ब ८२ करोड ३५ लाख रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको छ। विकास निर्माणमा लगानी गर्नुपर्ने ठूलो स्रोत ऋण तिर्नमै खर्चिनुपर्ने अवस्था सिर्जना हुनु सार्वजनिक वित्त व्यवस्थापनका लागि चुनौतीपूर्ण बन्दै गएको देखिन्छ।

आन्तरिक ऋणतर्फ पनि उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्षको सुरुआतमा १२ खर्ब ६८ अर्ब २२ करोड रुपैयाँ रहेको आन्तरिक ऋण असार मसान्तसम्म बढेर १३ खर्ब ७५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २०.८४ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा सरकारले ३ खर्ब ५८ अर्ब ६६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको थियो भने ब्याजबाहेक २ खर्ब ५० अर्ब ५६ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ।

वैदेशिक ऋण पनि निरन्तर बढिरहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १४ खर्ब ५ अर्ब ८२ करोड रुपैयाँ रहेको बाह्य ऋण अहिले बढेर १५ खर्ब ९९ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा सरकारले ८८ अर्ब ५० करोड रुपैयाँ नयाँ वैदेशिक ऋण प्राप्त गरेको छ भने ब्याजबाहेक ६१ अर्ब ८४ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ। हाल बाह्य ऋणको आकार जीडीपीको २४.२३ प्रतिशत बराबर पुगेको छ।

सरकारले गत आर्थिक वर्षका लागि ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो। तर वर्षभरमा ४ खर्ब ४७ अर्ब १८ करोड रुपैयाँ मात्र ऋण जुटाउन सफल भयो, जुन वार्षिक लक्ष्यको ७५.०७ प्रतिशत हो। आन्तरिक ऋण परिचालन भने लक्ष्यअनुसार लगभग सफल रह्यो। लक्ष्यको ९९.०८ प्रतिशत आन्तरिक ऋण उठाइए पनि वैदेशिक ऋण परिचालन भने अपेक्षाअनुसार हुन सकेन। लक्ष्यको ३७.८८ प्रतिशत मात्र वैदेशिक ऋण प्राप्त भएको तथ्यांकले देखाएको छ। विकास साझेदारबाट प्रतिबद्ध सहायता तथा सहुलियतपूर्ण ऋण समयमै प्राप्त नहुँदा सरकारले आन्तरिक स्रोतमा बढी निर्भर हुनुपरेको देखिन्छ।

यस अवधिमा कुल परिचालित सार्वजनिक ऋणमध्ये ८०.२१ प्रतिशत आन्तरिक स्रोतबाट र १९.७९ प्रतिशत मात्र वैदेशिक स्रोतबाट जुटाइएको छ। यसले सरकारको ऋण संरचना क्रमशः आन्तरिक बजारतर्फ केन्द्रित हुँदै गएको संकेत गरेको छ।

1

Scroll to Top