Banijya News

नवप्रवर्तनमै नेपालको भविष्य : एआई, अनुसन्धान र स्टार्टअपमा लगानी बढाउन निजी क्षेत्रको जोड

1
1.0K Shares

ज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण नगरेसम्म नेपालले विश्वव्यापी प्रतिस्पर्धामा उल्लेखनीय स्थान बनाउन नसक्ने भन्दै नेपाल चेम्बर अफ कमर्सले अनुसन्धान, कृत्रिम बुद्धिमत्ता (एआई) र स्टार्टअप क्षेत्रमा लगानी बढाउन सरकार र निजी क्षेत्रलाई संयुक्त रूपमा अघि बढ्न आग्रह गरेको छ।

काठमाडौंमा सनवे कलेजद्वारा आयोजित इनोभेसन फेस्ट २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले विश्व तीव्र गतिमा डिजिटल रूपान्तरणतर्फ अघि बढिरहेको उल्लेख गर्दै नेपालले पनि समयअनुकूल नीति, लगानी र सीप विकासमा केन्द्रित हुनुपर्ने बताए।

उनले अहिले विश्व अर्थतन्त्रको स्वरूप नै परिवर्तन भइरहेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, ड्रोन प्रविधि, बिग डाटा, ब्लकचेन, इन्टरनेट अफ थिङ्स (आईओटी), क्वान्टम कम्प्युटिङ र जैविक प्रविधिले उद्योग, व्यापार, शिक्षा तथा सार्वजनिक सेवामा नयाँ युगको सुरुआत गरेको बताए। यस्ता प्रविधिको विकाससँगै राष्ट्रको प्रतिस्पर्धात्मक क्षमता अब प्राकृतिक स्रोत वा सस्तो श्रममा नभई ज्ञान, अनुसन्धान र नवीन सोचमा निर्भर हुन थालेको उनको भनाइ थियो।

अग्रवालले नेपालसँग ठूलो युवा जनशक्ति, बढ्दो डिजिटल पहुँच र सिर्जनशील प्रतिभा रहेको उल्लेख गर्दै तिनलाई उत्पादनशील अर्थतन्त्रसँग जोड्न सके नेपाल दक्षिण एसियाको उदाउँदो नवप्रवर्तन केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे। उनले विश्वविद्यालय, निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्य बलियो बनाएर अनुसन्धानलाई प्रयोगशालाबाट उद्योग र बजारसम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए।

उनका अनुसार एआईको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, बैंकिङ, बिमा, पर्यटन, उत्पादन तथा सार्वजनिक सेवा सुधारमा प्रभावकारी हुन सक्छ। तर प्रविधिको विकास मानव हित, नैतिकता, डाटा सुरक्षा र गोपनीयतालाई केन्द्रमा राखेर गरिनुपर्नेमा उनले जोड दिए। “प्रविधिले मानिसको अवसर खोस्ने होइन, उसको क्षमता अभिवृद्धि गर्ने माध्यम बन्नुपर्छ,” उनले भने।

कार्यक्रममा उनले नेपालको भौगोलिक विविधतालाई ध्यानमा राख्दै ड्रोन प्रविधिलाई कृषि उत्पादन वृद्धि, वन संरक्षण, भू–नक्सांकन, पूर्वाधार अनुगमन, विपद् उद्धार, औषधि ढुवानी तथा पर्यटन प्रवर्द्धनमा प्रभावकारी रूपमा उपयोग गर्न सकिने धारणा राखे। त्यसैगरी रोबोटिक्सले औद्योगिक उत्पादन, स्वास्थ्य सेवा र जोखिमपूर्ण क्षेत्रमा काम गर्ने प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने बताए।

अध्यक्ष अग्रवालले नवप्रवर्तनलाई दिगो बनाउन स्टार्टअप इकोसिस्टम मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउँदै इनक्युबेसन सेन्टर, एक्सेलेरेटर, भेन्चर क्यापिटल तथा बौद्धिक सम्पत्ति अधिकारको प्रभावकारी संरक्षणमा जोड दिए। युवाहरूलाई जागिर खोज्ने मानसिकताभन्दा उद्यम सिर्जना गर्ने सोच विकास गर्नुपर्ने उनको भनाइ थियो।

उनले भविष्यमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता, डिजिटल दक्षता, नेतृत्व विकास र निरन्तर सिक्ने संस्कृतिले मात्र विश्व बजारमा नेपाली जनशक्तिलाई प्रतिस्पर्धी बनाउन सक्ने बताए।

कार्यक्रममा अध्यक्ष अग्रवालले सरकारसँग राष्ट्रिय एआई नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न, अनुसन्धान तथा विकासमा बजेट वृद्धि गर्न, स्टार्टअप कम्पनीलाई कर तथा वित्तीय सहुलियत उपलब्ध गराउन, डिजिटल पूर्वाधार विस्तार गर्न तथा साइबर सुरक्षा र डाटा संरक्षण प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउन आग्रह गरे।

कार्यक्रममा शिक्षाविद्, प्रविधि विज्ञ, उद्योगी–व्यवसायी, विद्यार्थी तथा स्टार्टअप उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले नेपालमा नवप्रवर्तनमैत्री वातावरण निर्माण गर्न शिक्षा, उद्योग र सरकारबीच दीर्घकालीन सहकार्य अपरिहार्य रहेको निष्कर्षसमेत व्यक्त गरेका थिए।

1

Scroll to Top