Banijya News

ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र ग्यास सञ्चय नगर्न आग्रह

1
1.0K Shares

बजारमा खाना पकाउने एलपीजी ग्यासको अभाव भएको भन्ने चर्चा बढिरहेका बेला सरकारले ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बजारमा पर्याप्त ग्यास मौज्दात रहेको भन्दै उपभोक्तालाई हल्लाको पछि नलाग्न र अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न आग्रह गरेकी छन्।

पछिल्ला केही दिनयता विभिन्न स्थानबाट ग्यास सिलिन्डर सहज रूपमा उपलब्ध नभएको र उपभोक्ताले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्रालयले आपूर्ति अवस्थाबारे विशेष निगरानी बढाएको हो। मन्त्री यादवले मन्त्रालयले दैनिक रूपमा ग्यासको मौज्दात, आयात र वितरण अवस्थाको अनुगमन गरिरहेको जानकारी दिँदै हाल देशभर आवश्यक परिमाणमा एलपीजी ग्यास उपलब्ध रहेको बताइन्।

उनका अनुसार बजारमा देखिएको समस्या वास्तविक अभावभन्दा पनि वितरण प्रक्रियामा देखिएको अस्थायी असन्तुलन र उपभोक्ताबीच फैलिएको त्रासका कारण सिर्जना भएको हुन सक्छ। हल्लाको प्रभावमा परेर धेरै उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गर्न खोज्दा केही स्थानमा कृत्रिम अभावको अवस्था देखिएको मन्त्रालयको निष्कर्ष छ।

यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सर्वसाधारणलाई तत्कालका लागि अत्यावश्यक परिमाणमा मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। आवश्यकताभन्दा बढी सिलिन्डर घरमा थुपार्ने वा सञ्चय गर्ने प्रवृत्तिले अन्य उपभोक्तालाई ग्यास पाउन कठिन हुने भएकाले यस्तो कार्य नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्री यादवले ग्यास आपूर्तिलाई सहज बनाउन नेपाल आयल निगमलाई आवश्यक निर्देशनसमेत दिएकी छन्। निगमलाई बजार अनुगमन प्रभावकारी बनाउन, ग्यास उद्योग तथा वितरकसँग नियमित समन्वय गर्न र वितरण प्रणालीलाई थप व्यवस्थित बनाउँदै उपभोक्तासम्म समयमै ग्यास पुग्ने व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

नेपाल आयल निगमले पनि बजारको अवस्थालाई नजिकबाट नियालिरहेको र ग्यासको आपूर्तिमा कुनै अवरोध आउन नदिने प्रतिबद्धता जनाएको छ। निगमका अनुसार ग्यास उद्योग, ढुवानी व्यवसायी र वितरकसँग निरन्तर समन्वय भइरहेको छ भने आवश्यक परे थप आपूर्ति व्यवस्थापनका उपाय पनि अपनाइनेछ।

सरकारले उपभोक्तालाई सामाजिक सञ्जाल वा अपुष्ट स्रोतबाट फैलिएका अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ। आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार मानी खरिद गर्न आग्रह गर्दै मन्त्रालयले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने कुनै गतिविधि भए त्यसविरुद्ध आवश्यक कारबाही गरिने चेतावनी पनि दिएको छ।

1

Scroll to Top