Banijya News

रश्मि रिजाल मृत्यु प्रकरणः अनुसन्धान कार्यालय तीर केन्द्रीत

1
1.0K Shares

काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित चुनीदेवी क्षेत्रमा मृत अवस्थामा फेला परेकी ४५ वर्षीया रश्मि रिजालको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। घटनाको विभिन्न पक्षबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने परिवारले दिएको जाहेरीका आधारमा कार्यालयसँग सम्बन्धित व्यक्तिहरूसँग पनि सोधपुछ अघि बढाइएको छ ।

रश्मि रिजाल साउन ८ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएकी थिइन्। परिवारले उनी घर नफर्किएपछि प्रहरीलाई जानकारी गराएको थियो। त्यसको भोलिपल्ट उनी प्रयोग गर्दै आएको विद्युतीय सवारीसाधन चुनीदेवी क्षेत्रको बालुवा प्रशोधन केन्द्र परिसरमा भेटिएको थियो। त्यसै सवारीसाधनभित्र उनको शव फेला परेपछि प्रहरीले घटनास्थल सुरक्षित गर्दै अनुसन्धान सुरु गरेको थियो ।

रिजाल काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनी सम्पर्कविहीन भएकै दिन कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित तीन जना कर्मचारी उनको मनमैजुस्थित घर पुगेको तथ्य खुलेको छ ।

परिवारले प्रहरीसमक्ष दिएको जाहेरीमा ती कर्मचारी घरमा आएर रश्मिको अवस्थाबारे सोधपुछ गरेको उल्लेख गरिएको छ । सोही आधारमा प्रहरीले सम्बन्धित व्यक्तिहरूसँग बयान लिने तथा घटनाको पृष्ठभूमिबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार परिवारले औपचारिक जाहेरी दिएपछि अनुसन्धानलाई थप विस्तृत बनाइएको छ । उनले जाहेरीमा उल्लेख गरिएका सबै विषयलाई गम्भीरतापूर्वक अध्ययन गरी सम्बन्धित व्यक्तिहरूसँग आवश्यक सोधपुछ भइरहेको जानकारी दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार रश्मि कार्यालयमा उपस्थित नभएको विषयमा जानकारी लिन कम्पनीका कर्मचारी घर पुगेका थिए। त्यससँग सम्बन्धित तथ्य, समयक्रम तथा अन्य उपलब्ध प्रमाणको आधारमा प्रहरीले घटनाको सम्पूर्ण पाटो केलाइरहेको छ ।

प्रहरीले घटनास्थल, सिसिटिभी फुटेज, डिजिटल प्रमाण तथा फरेन्सिक परीक्षणबाट प्राप्त विवरणहरूको विश्लेषण गरिरहेको जनाएको छ । हालसम्मको प्रारम्भिक अनुसन्धानले घटनास्थलमा अन्य व्यक्तिको प्रत्यक्ष संलग्नता देखिने प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ। यद्यपि अनुसन्धान अझै जारी रहेकाले अन्तिम निष्कर्ष विस्तृत अनुसन्धान र प्राविधिक प्रतिवेदनपछि मात्रै आउने प्रहरीले स्पष्ट पारेको छ ।

रश्मि रिजाल नुवाकोटको बेलकोटगढी नगरपालिका स्थायी घर भई पछिल्लो समय काठमाडौंको मनमैजु क्षेत्रमा बसोबास गर्दै आएकी थिइन् । उनको असामयिक निधनले परिवार, आफन्त तथा सहकर्मीहरूलाई स्तब्ध बनाएको छ ।

प्रहरीले घटनासँग सम्बन्धित कुनै पनि तथ्य वा प्रमाण छुट्न नदिन सबै सम्भावित पक्षको अनुसन्धान भइरहेको जनाएको छ। परिवारले निष्पक्ष र पारदर्शी छानबिनको माग गरेको छ भने प्रहरीले कानुनी प्रक्रिया अनुसार अनुसन्धानलाई निष्कर्षमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

1

Scroll to Top