निरन्तर वर्षासँगै साउने झरी परिरहे पनि लघुवित्त पीडितहरूको आन्दोलन रोकिएको छैन। माइतीघर मण्डलामा धर्ना दिइरहेका पीडितहरूले बुधबार रातभर सडक किनारमै बसेर रात कटाएका छन्। त्रिपाल र प्लास्टिकको सहारामा ओत लाग्ने प्रयास गरे पनि धेरैजना खुला आकाशमुनि भिज्दै बस्न बाध्य भए। केही पीडितहरू पसलका सटरअगाडि पेटीमै सुतेका देखिन्थे।
सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको भन्दै मंगलबारदेखि सुरु गरिएको सामूहिक आमरण अनसनमा हाल ४२ जना सहभागी छन्। अन्य आन्दोलनकारीले भने सडकमै बसेर सामान्य भोजन गरेका छन्। देशका विभिन्न जिल्लाबाट आएका करिब डेढ सय पीडित माइतीघरमा भेला भएका छन्।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीसहित विभिन्न जिल्लाका प्रतिनिधिहरू आमरण अनसनमा बसेका छन्। उनीहरूको मुख्य माग सर्वोच्च अदालतले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघबीच भएको सहमति कार्यान्वयन गर्न दिएको परमादेश तत्काल लागू गर्नु रहेको छ।
आन्दोलनमा सहभागीहरू चामल, ग्यास सिलिन्डर, सिरक–डस्ना लगायतका दैनिक आवश्यक सामग्री बोकेर काठमाडौं आएका छन्। सरकारबाट माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने समितिका उपाध्यक्ष मिनप्रसाद चौलागाईंले बताएका छन्।
यसैबीच, मानवअधिकारकर्मीहरूले वर्षायाममा खुला सडकमा आमरण अनसनरत आन्दोलनकारीहरूको स्वास्थ्य अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। चिकित्सकहरूले लामो अनसनका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै नियमित स्वास्थ्य परीक्षण र आवश्यक उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
उता, गृह प्रशासनले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गर्न आग्रह गर्दै वार्तामार्फत समस्या समाधान खोज्नुपर्ने धारणा सार्वजनिक गरेको छ। तर आन्दोलनरत पक्षले भने लिखित प्रतिबद्धता र सर्वोच्च अदालतको आदेश कार्यान्वयनको स्पष्ट योजना नआएसम्म आन्दोलन नरोकिने अडान दोहोर्याएका छन्। माइतीघर क्षेत्रमा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ भने आन्दोलनले सर्वसाधारणको ध्यान फेरि लघुवित्त पीडितका समस्या र समाधानतर्फ केन्द्रित गरेको छ।


