Banijya News

बुटवलका दुई रेस्टुरेन्टमा बालश्रमको पर्दाफास, तीन बालक उद्धार; ६ लाखभन्दा बढी क्षतिपूर्ति दिलाइयो

1
1.1K Shares

रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ मा सञ्चालित दुई रेस्टुरेन्टमा बालश्रम गराइएको तथ्य फेला परेपछि तीन जना बाल श्रमिकको उद्धार गरिएको छ। श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन ७ गते गरिएको संयुक्त अनुगमनका क्रममा राजु रेस्टुरेन्ट र सुशान्त रेस्टुरेन्टमा बालबालिकालाई श्रमिकका रूपमा काममा लगाइएको भेटिएको हो।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, इलाका प्रहरी कार्यालय बुटवल, बुटवल उपमहानगरपालिका तथा सिविन नेपाल बालहेल्पलाइन १०९८ का प्रतिनिधि सहभागी थिए। निरीक्षणका क्रममा राजु रेस्टुरेन्टमा एक जना र सुशान्त रेस्टुरेन्टमा दुई जना बालक कार्यरत रहेको पुष्टि भएपछि उनीहरूलाई तत्काल उद्धार गरी सिविन नेपालको आपतकालीन संरक्षण गृहमा राखिएको थियो।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार बालश्रम प्रयोग गरेको कसुरमा दुवै रेस्टुरेन्टलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। साथै, श्रम ऐनबमोजिम उनीहरूले काम गरेको अवधिको पारिश्रमिक र क्षतिपूर्ति रकमसमेत उपलब्ध गराइएको छ।

राजु रेस्टुरेन्टमा कार्यरत बालकले ३ लाख ८४ हजार ३४९ रुपैयाँ तथा सुशान्त रेस्टुरेन्टमा कार्यरत दुई बालकले क्रमशः १ लाख ८७ हजार ४८६ रुपैयाँ र ४१ हजार ५३६ रुपैयाँ क्षतिपूर्ति तथा बाँकी पारिश्रमिक प्राप्त गरेका छन्। यससँगै तीनै बालकलाई जम्मा ६ लाख १३ हजार ३७१ रुपैयाँ उपलब्ध गराइएको छ।

सम्बन्धित रेस्टुरेन्ट सञ्चालकलाई भविष्यमा बालश्रम प्रयोग नगर्न कडा चेतावनी दिइएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उद्धार गरिएका बालबालिकालाई आफन्तको जिम्मा लगाइएको जनाइएको छ।

श्रम कार्यालयले बालश्रमविरुद्धको अनुगमनलाई आगामी दिनमा अझ प्रभावकारी बनाइने जनाएको छ। बालबालिकालाई विद्यालय र सुरक्षित वातावरणमा फर्काउने उद्देश्यसहित होटल, रेस्टुरेन्ट, उद्योग तथा अन्य श्रम क्षेत्रमा नियमित निरीक्षणलाई निरन्तरता दिइने अधिकारीहरूले बताएका छन्। बालश्रम अन्त्यका लागि कानुनको कडाइसँगै समुदाय, अभिभावक र रोजगारदाताको सचेतना पनि उत्तिकै आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

1

Scroll to Top