नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई असफल हुने कुनै छुट नरहेको बताएका छन्। सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले सरकार असफल भए त्यसको असर सत्तापक्ष वा रास्वपामा मात्र सीमित नहुने, मुलुक नै असफल राष्ट्रको जोखिमतर्फ धकेलिन सक्ने चेतावनी दिएका हुन्।
बिहीबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशभर विभिन्न वर्ग, समुदाय र क्षेत्रबाट आन्दोलन भइरहेका बेला सरकारले त्यसलाई सामान्य रूपमा लिन नहुने बताए। उनका अनुसार पछिल्ला घटनाक्रमले मुलुकको अवस्था संवेदनशील बन्दै गएको संकेत गरेका छन्, त्यसैले सरकार जिम्मेवार र सक्रिय बन्न आवश्यक छ।
प्रचण्डले सरकारको कामकारबाहीप्रति प्रश्न उठाउँदै सुशासन, शान्ति–सुरक्षा र जनअपेक्षा पूरा गर्ने विषयमा अपेक्षित प्रगति नदेखिएको टिप्पणी गरे। उनले रास्वपाले विगतमा पुराना दलमाथि गर्दै आएको आलोचनाभन्दा फरक व्यवहार अहिले सरकारमा देखिन थालेको संकेतसमेत गरे।
प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि पनि उनले असन्तुष्टि व्यक्त गरे। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सदनमा देखिएको व्यवहार, गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको अनुपस्थिति तथा देशका समसामयिक समस्याबारे छलफल गर्न बोलाइएको बैठकमा शीर्ष नेतृत्व सहभागी नहुनुलाई सामान्य रूपमा लिन नसकिने उनको भनाइ थियो।
प्रचण्डले जनताले परिवर्तन, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अपेक्षासहित रास्वपालाई मत दिएको स्मरण गराउँदै सरकारले ती अपेक्षालाई सम्बोधन गर्न नसकेको बताए। बरु सरकारका गतिविधिले जनतामा निराशा बढाएको उनको दाबी थियो।
उनले राष्ट्रिय समस्याको समाधान संवाद, सहकार्य र राजनीतिक नेतृत्वमार्फत खोजिनुपर्नेमा जोड दिए। संवैधानिक तथा राजनीतिक हिसाबले प्रधानमन्त्रीले सबैभन्दा बढी नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भए पनि त्यो प्रभावकारी रूपमा देखिन नसकेको प्रचण्डको भनाइ थियो। देशको राजनीतिक अवस्था अझै सहज भइनसकेको उल्लेख गर्दै उनले सरकारलाई जनविश्वास कायम राख्ने गरी जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे।


