Banijya News

प्रधानमन्त्री शाहको सम्बोधन : दोषीमाथि कडा कारबाही हुने, अफवाह नफैलाउन आग्रह (पूर्णपाठ)

1
1.0K Shares

सुनसरीको देवानगन्ज, सिराहा लगायत विभिन्न स्थानमा पछिल्ला दिनहरूमा भएका हिंसात्मक घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गरेका छन्। उनले घटनाप्रति सरकार पूर्ण रूपमा गम्भीर, संवेदनशील र जिम्मेवार रहेको स्पष्ट पार्दै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सम्बोधनको सुरुवातमै घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। साथै शोकमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई तत्काल आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइसकेको जानकारी गराए।

घटनाको वास्तविकता सार्वजनिक गर्न सरकारले निष्पक्ष र पारदर्शी छानबिन प्रक्रिया अघि बढाइसकेको प्रधानमन्त्रीले बताए। गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गरिने उनको भनाइ थियो। न्यायिक प्रक्रियामा कुनै पनि प्रकारको हस्तक्षेप नहुने र सत्यतथ्यका आधारमा निर्णय गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

देशका विभिन्न स्थानमा तनाव थप फैलिन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रधानमन्त्री शाहले जानकारी दिए। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन गर्न गृहमन्त्री स्वयं घटनास्थल पुगेर सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरोकारवालासँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर देशको समग्र सुरक्षा अवस्थाबारे विस्तृत समीक्षा गरिएको पनि जानकारी दिए। शान्ति पुनःस्थापना र सामाजिक सद्भाव कायम राख्न केन्द्रमा सर्वदलीय बैठक आह्वान गरिएको तथा स्थानीय तहमा समुदायबीच संवादलाई निरन्तरता दिइएको उनले बताए। समस्याको समाधान वार्ता, सहकार्य र आपसी विश्वासबाट मात्रै सम्भव हुने उनको भनाइ थियो।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचना, अफवाह र घृणायुक्त सामग्रीप्रति विशेष चिन्ता व्यक्त गरे। उनले अपुष्ट समाचार वा उत्तेजक सामग्री साझा नगर्न आग्रह गर्दै सरकारी निकायबाट जारी हुने आधिकारिक सूचना र तथ्यमा मात्र विश्वास गर्न सबै नागरिकलाई अनुरोध गरे। गलत सूचना फैलाउँदा सामाजिक सद्भाव बिग्रिन सक्ने भएकाले सबैले जिम्मेवार व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री शाहले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालना गर्ने मौलिक अधिकार सुनिश्चित गरेको स्मरण गराए। कुनै पनि धर्मले हिंसा, द्वेष वा विभाजनको शिक्षा नदिने उल्लेख गर्दै एउटा स्थानमा भएको घटनाका आधारमा सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा प्रतिशोधको भावना फैलाउनु उचित नहुने स्पष्ट पारे।

सरकार शान्ति सुरक्षा भंग गर्ने, सामाजिक सद्भाव विथोल्ने तथा अराजक गतिविधिमा संलग्न हुने जोसुकैमाथि कानुनबमोजिम कडा कदम चाल्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीले चेतावनी दिए। अन्त्यमा उनले आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई धैर्यता, संयमता र जिम्मेवारीका साथ अघि बढ्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र स्थायी शान्ति कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन्।

यस्तो छ पूर्णपाठ

नमस्कार। आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु। म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईहरु सामु उपस्थित भएको छु। केही दिन अघि सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा भएको दुखद घटना र त्यसपछिका केही जिल्लाहरुमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रुपमा गम्भीर र संवेदनशील छ। यस दुखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरु जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै शोक सन्तप्त परिवारजनहरुमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु।

घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। घाइतेहरुको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाई हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरुलाई स्पष्ट निर्देशन दिइसकेको छ।

घटना भए लगतै सबै सुरक्षा निकायहरुले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ। म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रुपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भएपनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ।

परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरुसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयम् सो स्थानमा पुगिसक्नुभएको छ। साथै देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरु समेत गरिसकिएको छ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन अनुरोध गर्दछु। साथै सरकारी निकायहरुबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु।

प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ। प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरु अहोरात्र खटिनेछन्। शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि क्रियाकलाप प्रति सरकार पूर्ण रुपमा सचेत छ र यस गतिविधिमाथि कडा कदम चालिने छन्।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आ-आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ। यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रुपमा प्रतिबद्ध छ। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो। संसारको कुनै  पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन। सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो।

देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन।

आदरणीय बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरु, हाम्रो इतिहास साक्षी छ कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबै भन्दा ठुलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ।

(मैथिली भाषामा): हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचार के माध्यम सब के धैर्यता आ संयमता अपनाके शान्ति, सदभाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकार के तर्फ से हार्दिक अपील करहल छी। धन्यवाद।

1

Scroll to Top