Banijya News

शिल्पा सेट्ठी नेपाल आइपुगिन्, चर्चित कलाकारको सहभागिता

1
1.0K Shares

नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा लक्जरी वेडिङ तथा उच्चस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजना गरिएको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन्। दुई दिने सम्मेलन राजधानीस्थित सोल्टी होटलमा सुरु हुँदैछ, जहाँ नेपालसहित विभिन्न देशका पर्यटन, इभेन्ट व्यवस्थापन, वेडिङ तथा आतिथ्य उद्योगसँग सम्बन्धित विज्ञ, व्यवसायी र लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहनेछ।

आयोजकका अनुसार सम्मेलनमा भारत, नेपाल लगायत सात विभिन्न मुलुकका करिब ५५० जना प्रतिनिधिहरू सहभागी हुनेछन्। कार्यक्रममा इभेन्ट व्यवस्थापन, डेस्टिनेशन वेडिङ, होटल तथा रिसोर्ट व्यवसाय, पर्यटन प्रवर्द्धन र आतिथ्य उद्योगका विशेषज्ञहरूले आफ्नो अनुभव आदानप्रदान गर्नेछन्। साथै, नेपालमा अन्तर्राष्ट्रिय स्तरका विवाह समारोह, सम्मेलन तथा विशेष कार्यक्रम आयोजना गर्ने सम्भावनाबारे विस्तृत छलफल गरिने जनाइएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अभिनेत्री शिल्पा शेट्टीको सहभागिता रहेको छ। उनीसँगै बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मेसी पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ। नेपाली चलचित्र क्षेत्रकी वरिष्ठ अभिनेत्री मनीषा कोइराला पनि कार्यक्रममा सहभागी हुने भएकाले सम्मेलनले थप आकर्षण पाएको छ।

सम्मेलनमा नेपालका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने विषयमा विशेष जोड दिइनेछ। हिमाल, पहाड, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध नेपाललाई डेस्टिनेशन वेडिङका लागि उपयुक्त स्थानका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, सेवा र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा पनि छलफल हुने कार्यक्रम छ।

आयोजकका अनुसार नेपालमा लक्जरी वेडिङ पर्यटनको ठूलो सम्भावना रहेकाले यस्ता अन्तर्राष्ट्रिय सम्मेलनले विदेशी लगानी आकर्षित गर्न, पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। सम्मेलनमार्फत विदेशी इभेन्ट कम्पनी, होटल व्यवसायी, लगानीकर्ता तथा पर्यटन विज्ञहरूलाई नेपालका सम्भावित गन्तव्यबारे प्रत्यक्ष जानकारी गराइनेछ।

यस प्रकारका अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाललाई केवल साहसिक पर्यटनको मात्र नभई उच्चस्तरीय विवाह समारोह, सम्मेलन तथा विशेष कार्यक्रम आयोजना गर्न सकिने उत्कृष्ट गन्तव्यका रूपमा परिचित गराउने विश्वास गरिएको छ। पर्यटन क्षेत्रको विस्तार, रोजगारी सिर्जना तथा विदेशी मुद्रा आर्जनमा समेत यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

आयोजकले सम्मेलन सफलतापूर्वक सम्पन्न भएपछि नेपालमा अन्तर्राष्ट्रिय स्तरका वेडिङ तथा इभेन्ट आयोजना गर्ने अवसर अझ बढ्ने विश्वास व्यक्त गरेका छन्। सम्मेलनले नेपाललाई विश्वव्यापी लक्जरी वेडिङ बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top