नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) ले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सुगम घिमिरेलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको छ। काठमाडौंमा सम्पन्न मञ्चको आठौँ वार्षिक साधारण सभाले घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै युवा उद्यमशीलता, नवप्रवर्तन र निजी क्षेत्रको सशक्तीकरणलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनीत अग्रवाल, स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल तथा फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स चेयर अङ्कुर अग्रवाल रहेका छन्।
त्यसैगरी, न्यान्सी अग्रवाल, सचेत मानन्धर र चेतन प्रधान क्रमशः मेम्बरसिप एन्ड इन्टिग्रेसन, स्टार्टअप तथा गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्सतर्फ को–चेयर चयन भएका छन्। नयाँ टोलीले युवा उद्यमीबीच सहकार्य विस्तार, नवप्रवर्तन प्रवर्द्धन र नीति निर्माण तहसँग प्रभावकारी समन्वय गर्ने लक्ष्य लिएको जनाएको छ।
साधारण सभाका अवसरमा मञ्चले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सदस्य तथा च्याप्टरलाई सम्मान पनि गरेको छ। समिति र कार्यक्रमहरूमा निरन्तर सक्रिय भूमिका निर्वाह गरेको भन्दै जितेन्द्र बहातीलाई पुरुषतर्फ तथा नेहा अग्रवाललाई महिलातर्फ ‘मोस्ट एक्टिभ मेम्बर’ अवार्ड प्रदान गरिएको छ।
यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी प्रेरणादायी उपलब्धि हासिल गरेका सुधिज्ञ पन्तलाई ‘आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। च्याप्टर विस्तार र सदस्य सहभागितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै सीएनआईवाईईएफ लुम्बिनी च्याप्टरलाई ‘च्याप्टर ग्रोथ अवार्ड’ तथा प्रभावकारी नेतृत्व र उत्कृष्ट कार्यसम्पादनका लागि सीएनआईवाईईएफ कोशी च्याप्टरलाई ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ प्रदान गरिएको मञ्चले जनाएको छ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा गरेका थिए। उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले नेपालमा उद्यमशीलताको वातावरण सुदृढ बनाउन युवा व्यवसायीको भूमिका अझ महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरेका थिए।
कार्यक्रममा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले आफ्नो कार्यकालको समीक्षा गर्दै युवा उद्यमीलाई एकीकृत गर्ने, सीप विकास र नेतृत्व निर्माणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पारे। समापन समारोहमा उनले अतिथिहरूलाई मायाको चिनो प्रदान गरे भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले नयाँ कार्यसमितिले निजी क्षेत्रको विकास, नवप्रवर्तनको प्रवर्द्धन र युवा उद्यमीको क्षमता अभिवृद्धिका लागि थप सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सबैप्रति आभार व्यक्त गरे।


