स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइने साधारण सेयर (आईपिओ) अङ्कित मूल्य अर्थात् प्रतिकित्ता १०० रुपैयाँमै उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीलाई आग्रह गरेको छ। संस्थाले स्थानीय समुदायको हित, आयोजनाप्रतिको अपनत्व र दीर्घकालीन सहकार्यलाई ध्यानमा राख्दै यस्तो आग्रह गरेको हो।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले केही जलविद्युत् आयोजनाको साधारण सेयर निस्कासन प्रक्रियामा भएको ढिलाइका कारण केही प्रवर्द्धक कम्पनीले स्थानीय प्रभावितका लागि प्रिमियम मूल्यमा सेयर जारी गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनका अनुसार कानुनी व्यवस्था र स्थानीय समुदायको हितलाई प्राथमिकतामा राख्दै अङ्कित मूल्यमा नै सेयर उपलब्ध गराइनु उपयुक्त हुने संस्थाको धारणा रहेको छ।
धितोपत्र दर्ता तथा निस्कासन नियमावली, २०७३ ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दाका लागि कुल जारी पुँजीको १० प्रतिशत सेयर छुट्याउनुपर्ने व्यवस्था गरेको छ। यही कानुनी प्रावधानको उद्देश्य स्थानीय समुदायलाई आयोजनाको स्वामित्वमा सहभागी गराउनु र उनीहरूलाई आयोजनाबाट प्रत्यक्ष आर्थिक लाभ दिलाउनु रहेको इप्पानले स्मरण गराएको छ।
संस्थाका अनुसार जलविद्युत् आयोजना केवल व्यावसायिक लगानीको माध्यम मात्र होइन, स्थानीय समुदायसँगको सहकार्य, विश्वास र साझेदारीमा आधारित विकासको नमुना पनि हो। आयोजना निर्माणका क्रममा स्थानीय बासिन्दाले जग्गा उपलब्ध गराउने, वातावरणीय तथा सामाजिक प्रभाव व्यहोर्ने, निर्माण अवधिमा विभिन्न असुविधा सहने तथा आयोजनालाई सफल बनाउन प्रत्यक्ष सहयोग गर्ने भएकाले उनीहरूलाई स्वामित्वमा सहभागी गराउनु आवश्यक रहेको इप्पानको भनाइ छ।
इप्पानले स्थानीयका लागि छुट्याइएको सेयर प्रिमियम मूल्यमा बिक्री गरिए त्यसको प्रत्यक्ष असर स्थानीय समुदायमाथि पर्ने जनाएको छ। प्रिमियम मूल्यका कारण धेरै स्थानीय लगानी गर्न नसक्ने अवस्था सिर्जना हुन सक्ने, आयोजनाप्रतिको अपनत्वको भावना कमजोर बन्ने तथा आयोजना र स्थानीय समुदायबीच लामो समयदेखि कायम रहेको विश्वासको सम्बन्धमा नकारात्मक प्रभाव पर्ने संस्थाको निष्कर्ष छ।
विज्ञप्तिमा अङ्कित मूल्यमा सेयर उपलब्ध गराउँदा स्थानीय समुदाय आयोजनाका वास्तविक साझेदार बन्ने, उनीहरूमा स्वामित्वको भावना बढ्ने तथा आयोजना सञ्चालनका क्रममा देखिने सामाजिक विवाद र अवरोधसमेत कम हुने विश्वास व्यक्त गरिएको छ। यसले स्थानीयस्तरमा सहयोग, समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउने तथा आयोजना समयमै सम्पन्न गर्न सहज वातावरण सिर्जना गर्ने इप्पानको भनाइ छ।
इप्पानले स्थानीय समुदायलाई दीर्घकालीन आर्थिक लाभ सुनिश्चित गर्न, आर्थिक सशक्तीकरणमा योगदान पुर्याउन तथा स्थानीय विकास र सामाजिक सद्भाव प्रवर्द्धन गर्न पनि अङ्कित मूल्यमा सेयर वितरणको नीति निरन्तर कायम राख्नुपर्नेमा जोड दिएको छ।
साथै, संस्थाले सरकार, सम्बन्धित नियामक निकाय र सबै प्रवर्द्धक कम्पनीलाई स्थानीय प्रभावित बासिन्दाको हितलाई प्राथमिकतामा राख्दै हाल कायम रहेको व्यवस्थालाई निरन्तरता दिन आग्रह गरेको छ। साधारण सेयर निस्कासन प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन तथा सेयर निष्कासनमा भइरहेको ढिलाइ हटाई जलविद्युत् आयोजनाले भोगिरहेका समस्या समाधान गर्न आवश्यक पहल गर्न पनि इप्पानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।


