सरकारको पछिल्लो गतिविधिलाई लिएर राजनीतिक तथा व्यावसायिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। एकातर्फ प्रधानमन्त्रीले निजी क्षेत्रसँग संवाद बढाउँदै उद्योगी–व्यवसायीका समस्या समाधान गर्ने प्रतिबद्धता जनाइरहेका छन् भने अर्कोतर्फ राज्यका विभिन्न निकायबाट व्यवसायीमाथि धरपकड र अनुसन्धान तीव्र बनाइएको भन्दै असन्तुष्टि बढ्न थालेको छ।
पछिल्ला दिनहरूमा प्रधानमन्त्रीले उद्योगी-व्यवसायीसँग भेटघाट गर्दै लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको मनोबल बढाउने र आर्थिक गतिविधिलाई चलायमान बनाउने विषयमा छलफल गरिरहेका छन्। सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई बलियो बनाउने उद्देश्यले नियमित संवाद भइरहेको सरकारी पक्षको दाबी छ।
तर, व्यवसायीहरूले भने बाहिर संवाद र सहकार्यको सन्देश दिए पनि व्यवहारमा राज्यका विभिन्न निकायबाट अनुगमन, छापा, पक्राउ तथा अनुसन्धानका गतिविधि बढाइएको गुनासो गरेका छन्। उनीहरूका अनुसार कानुनी प्रक्रिया आवश्यक भए पनि त्यसको कार्यान्वयन पारदर्शी, निष्पक्ष र व्यवसायमैत्री हुनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंमा निजी क्षेत्रसँग लगानी प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारबारे लामो छलफल गरेको केही समयमै विराटनगरमा प्रतिष्ठित औद्योगिक घरानामाथि नेपाल प्रहरीले गरेको खानतलासीले निजी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ। उद्योगी–व्यवसायीहरूले सरकारले एकातिर लगानीमैत्री वातावरणको सन्देश दिने र अर्कोतर्फ प्रमाण नखुलेको अवस्थामा ठूलो प्रहरी परिचालन गरेर छापा मार्ने कार्यले व्यवसायीको मनोबल कमजोर बनाएको बताएका छन्।
सोमबार बिहान मोरङको विराटनगर–७ गोश्वारा रोडस्थित देवेनरा समूहसँग सम्बन्धित व्यवसायी वेणीगोपाल मुन्दडा र प्रकाश मुन्दडा परिवारको घर तथा कार्यालयमा नेपाल प्रहरीले विशेष सूचनाको आधारमा खानतलासी गरेको थियो। बिहान करिब ४:३० बजेदेखि सुरु भएको खोजतलास करिब पाँच घण्टासम्म चलेको थियो।
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुका साथै घर वरपरको क्षेत्र नियन्त्रणमा लिएको थियो। खोजतलासका क्रममा आधुनिक प्रविधिको प्रयोग गरिएको र सुरक्षात्मक व्यवस्था निकै कडा बनाइएको बताइएको छ। यद्यपि, लामो समयसम्म गरिएको खानतलासीपछि कुनै पनि शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ।
मोरङका प्रहरी उपरीक्षक कवित कटवालले विशेष सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गरेर खानतलासी गरिएको स्पष्ट पार्दै अनुसन्धानका क्रममा कुनै आपत्तिजनक सामग्री नभेटिएको जानकारी दिए। उनका अनुसार प्राप्त सूचनाको सत्यता परीक्षण गर्नु प्रहरीको नियमित जिम्मेवारी भएकाले कानुनअनुसार खोजतलास गरिएको हो।
घटनापछि भने उद्योगी–व्यवसायीहरूले यस प्रकारको कार्यशैलीले निजी क्षेत्रलाई त्रसित बनाएको प्रतिक्रिया दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयेश प्याकुरेलले सरकारले लगानी बढाउन आग्रह गर्ने र व्यवहारमा व्यवसायीमाथि कठोर शैली अपनाउने कार्य परस्पर विरोधाभासी भएको बताए। उनले यस्ता घटनाले लगानीकर्ताको विश्वास कमजोर हुने र नयाँ लगानी आकर्षित गर्न कठिन हुने धारणा राखे।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडाले प्रहरी कारबाहीका कारण स्थानीयस्तरमा अनावश्यक त्रास फैलिएको बताए। उनका अनुसार बिहानै ठूलो संख्यामा प्रहरी परिचालन हुँदा स्थानीयवासीले गम्भीर सुरक्षा घटना भएको अनुमान गरेका थिए। अन्ततः केही पनि फेला नपरेपछि व्यवसायीको सामाजिक प्रतिष्ठामै असर पुगेको उनको भनाइ छ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कानुन कार्यान्वयन राज्यको दायित्व भए पनि ठोस आधारबिना प्रतिष्ठित व्यवसायीमाथि हुने यस्ता कारबाहीले समग्र निजी क्षेत्रको मनोबलमा नकारात्मक प्रभाव पार्ने बताए।
यता देवेनरा समूहका सदस्य वेणीगोपाल मुन्दडाले प्रहरीले कानुनी प्रक्रिया अनुसार खानतलासी गरेको र परिवारले पूर्ण सहयोग गरेको बताए। उनका अनुसार खोजतलासपछि कुनै पनि आपत्तिजनक वस्तु नभेटिएको जानकारी प्रहरीले दिएको थियो। समूहका अर्का सदस्य प्रकाश मुन्दडाले पनि प्रहरीबाट कुनै सामग्री बरामद नभएको र खोजतलास सम्पन्न भएपछि टोली फर्किएको बताए।
घटनापछि निजी क्षेत्रले कानुन कार्यान्वयन र लगानीमैत्री वातावरणबीच सन्तुलन कायम गर्न सरकारसँग आग्रह गरेको छ। उद्योगीहरूले अपराध अनुसन्धान आवश्यक भए पनि त्यसले व्यवसायीको प्रतिष्ठा, विश्वास र लगानीको वातावरणमा अनावश्यक असर नपर्ने गरी प्रक्रिया अपनाउनुपर्नेमा जोड दिएका छन्। अहिलेको घटनाले सरकारको लगानी प्रवर्द्धन नीति र कार्यान्वयन शैलीबीच तालमेलको आवश्यकता पुनः उजागर गरेको निजी क्षेत्रको निष्कर्ष छ।


