Banijya News

निगम भन्छ ‘ग्यासको अभाव छैन्’, उपभोक्ताले भने पाउँदैनन ग्यास

1
1.0K Shares

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर भण्डारण नगर्न आग्रह गरेको छ। पछिल्ला केही दिनयता बजारमा ग्यास अभाव भएको भन्दै आएका गुनासा र सामाजिक सञ्जालमा फैलिएका विभिन्न सूचनाप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले देशभर मागअनुसार ग्यास आपूर्ति नियमित रूपमा भइरहेको जनाएको हो।

मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत निगमले हाल एलपी ग्यासको आयात, ढुवानी र बिक्री वितरण प्रक्रिया नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिएको छ। निगमका अनुसार असार ३१ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार १४.२ केजी क्षमताका एलपी ग्यास सिलिन्डरको बिक्री वितरण व्यवस्था कार्यान्वयनमा ल्याइएपछि केही स्थानमा उपभोक्ताको भीड बढेको देखिएको छ। यही भीड र आवश्यकताभन्दा बढी ग्यास खरिद गर्ने प्रवृत्तिका कारण बजारमा कृत्रिम अभावको अवस्था सिर्जना भएको हुन सक्ने निगमको निष्कर्ष छ।

निगमले देशभर सञ्चालनमा रहेका ग्यास उद्योग तथा आधिकारिक बिक्रेतालाई उपभोक्तामाझ सहज र व्यवस्थित रूपमा ग्यास उपलब्ध गराउन निर्देशन दिएको जनाएको छ। घरायसी प्रयोजनका लागि ग्यास खरिद गर्ने उपभोक्तालाई प्राथमिकतामा राख्न, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर अभिलेख राख्न तथा पारदर्शी ढंगले बिक्री वितरण गर्न पनि उद्योगहरूलाई निर्देशन दिइएको छ।

त्यसैगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दीर्घरोगबाट पीडित नागरिकलाई ग्यास वितरणमा विशेष प्राथमिकता दिन आग्रह गरिएको छ। यसले वास्तविक आवश्यकतामा रहेका उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने विश्वास निगमले व्यक्त गरेको छ।

काठमाडौं उपत्यकामा पछिल्लो समय ग्यासको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै निगमले विशेष व्यवस्था पनि गरेको छ। शनिबारदेखि टेकुस्थित निगम कार्यालयबाट नेपाल ग्यास, एलपी ग्यास, एसएच ग्यास, सुगम ग्यास तथा श्रीराम ग्यासका १४.२ केजी क्षमताका सिलिन्डर सम्बन्धित उद्योगमार्फत प्रत्यक्ष बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने यो व्यवस्थाले उपत्यकाका उपभोक्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

उपभोक्तालाई ग्यास प्राप्त गर्न कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ। काठमाडौं उपत्यकाबाहिरका उपभोक्ताले भने सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय वा डिपोका सम्पर्क अधिकारीमार्फत आवश्यक जानकारी लिन सक्ने व्यवस्था गरिएको निगमले जनाएको छ।

निगमका अनुसार नेपालमा मासिक औसत करिब ४७ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गरेको छ। सम्भावित आकस्मिक मागलाई ध्यानमा राख्दै यस महिनाका लागि ग्यास आयातको परिमाणसमेत बढाइएको छ। साउन १ गतेदेखि १८ गतेसम्म मात्रै ३१ हजार ८६१ मेट्रिक टन एलपी ग्यास आयात भइसकेको निगमले जनाएको छ। यो परिमाणले हालको माग धान्न पर्याप्त रहेको र आपूर्तिमा कुनै समस्या नरहेको निगमको दाबी छ।

निगमले उपभोक्तालाई अफवाहमा नलाग्न, आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय नगर्न तथा जिम्मेवार ढंगले ग्यास खरिद गर्न आग्रह गरेको छ। अनावश्यक भण्डारणका कारण वास्तविक उपभोक्ताले समस्या भोग्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भएकाले सबैलाई संयम अपनाउन निगमले अपिल गरेको छ। साथै आगामी दिनमा पनि एलपी ग्यासको आयात, आपूर्ति र बिक्री वितरणलाई निरन्तर तथा प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता निगमले दोहोर्याएको छ।

1

Scroll to Top