Banijya News

उपत्यकामा बजार अनुगमनमा दुई व्यवसायीलाई जरिवाना, अन्यलाई सुधार गर्न निर्देशन

1
1.1K Shares

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन काठमाडौँ उपत्यकामा नियमित बजार अनुगमनलाई निरन्तरता दिएको छ। बुधबार गरिएको स्थलगत अनुगमनका क्रममा उपत्यकाका १२ वटा व्यावसायिक फर्मको निरीक्षण गरिएको थियो। निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि केही व्यवसायीलाई जरिवाना गरिएको छ भने अन्यलाई सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।

अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२० स्थित न्यू डाइमण्ड फर्निचर सेन्टरले खरिदसम्बन्धी आवश्यक बिल तथा कागजात राख्नुपर्ने कानुनी व्यवस्था पालना नगरेको भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ अनुसार खरिद बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था उल्लङ्घन गरेकाले उक्त फर्मलाई १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

त्यसैगरी, काठमाडौंको गोङ्गबुमा सञ्चालित अजिमा चस्मा घरलाई पनि नियम उल्लङ्घन गरेको पाइएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ। विभागका अनुसार बजारमा उपभोक्ताको अधिकार सुनिश्चित गर्न कानुनी मापदण्डको पालना सबै व्यवसायीले अनिवार्य रूपमा गर्नुपर्ने भएकाले यस्ता कारबाहीलाई निरन्तरता दिइनेछ।

ग्यास वितरण प्रणालीलाई थप सहज र प्रभावकारी बनाउन पनि विभागले सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ। कलङ्कीस्थित साइबाबा ग्यास उद्योगलाई उपभोक्ताले सहज रूपमा खाना पकाउने ग्यास प्राप्त गर्न सक्ने वातावरण बनाउन आवश्यक व्यवस्था मिलाउन भनिएको छ। त्यस्तै, चाबहिलमा रहेको चन्द्र विनायक ग्यास स्टोरलाई नियमित रूपमा ग्यास उपलब्ध गराउन, उपभोक्तालाई कुनै असहजता हुन नदिन तथा प्रत्येक कारोबारमा अनिवार्य रूपमा बिल विजक जारी गर्न निर्देशन दिइएको छ।

यस्तै, कोलोनी प्रोडक्सन एन्ड सप्लायर्स र अमन ट्रेडर्सलाई व्यवसाय सञ्चालनसँग सम्बन्धित आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। आवश्यक विवरणका आधारमा थप छानबिन तथा कानुनी प्रक्रिया अघि बढाइने विभागले जनाएको छ।

अनुगमनमा समेटिएका अन्य व्यावसायिक फर्ममा भने सामान्य कमजोरी देखिएकाले तत्काल सुधार गर्न निर्देशन दिइएको छ। विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन, निगरानी तथा कारबाहीको प्रक्रिया अवलम्बन गरिएको हो।

विभागले उपभोक्ता अधिकारकर्मी, स्थानीय सरोकारवाला तथा सम्बन्धित निकायको सहभागितामा बजार अनुगमनलाई अझ प्रभावकारी बनाउँदै कालोबजारी, कृत्रिम अभाव, मूल्य अनियमितता तथा उपभोक्ता ठगी नियन्त्रणका लागि सक्रिय रूपमा काम गरिरहेको जनाएको छ। आगामी दिनमा पनि यस्ता अनुगमनलाई थप सशक्त बनाइने विभागको प्रतिबद्धता रहेको छ।

1

Scroll to Top