नेपालको पुष्प व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र व्यवसायिक बनाउन फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी–२०८३’ आयोजना गर्ने भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नारासहित सञ्चालन हुन लागेको यस प्रदर्शनी आगामी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरस्थित जावलाखेल खेल मैदान मा आयोजना गरिनेछ। नेपालकै सबैभन्दा ठूलो तथा प्रतिष्ठित पुष्प प्रदर्शनीका रूपमा परिचित यस मेलाले पुष्प व्यवसायको विस्तार, प्रविधिको आदानप्रदान र बजार प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनी हरेक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला रहने आयोजकले जनाएको छ। यस वर्ष करिब ९० वटा स्टल रहनेछन्, जहाँ देशभरका नर्सरी, व्यावसायिक पुष्प फार्म, कृषि उद्यमी तथा पुष्प क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्थाहरूले आफ्ना उत्पादन र सेवाहरू प्रदर्शन गर्नेछन्। मेलामा आगन्तुकहरूले विभिन्न प्रजातिका फूल, सजावटी बिरुवा तथा आधुनिक कृषि सामग्री प्रत्यक्ष अवलोकन र खरिद गर्न सक्नेछन्।
यस प्रदर्शनीको मुख्य आकर्षण प्रतियोगितात्मक गोदावरी फूल प्रदर्शनी हुनेछ। प्रतियोगितामा इन्कर्भ, रेफ्लेक्स, स्पाईडर, मिनियचर र कट फ्लावर गरी पाँच विधामा उत्कृष्ट फूल छनोट गरिनेछ। उत्कृष्ट प्रदर्शन गर्ने सहभागी तथा प्रदर्शकलाई पुरस्कार र प्रशंसापत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले गुणस्तरीय उत्पादनलाई प्रोत्साहन गर्नुका साथै नेपाली पुष्प व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
मेलामा गोदावरी फूल मात्र नभई अन्य सजावटी फूल तथा बिरुवाका साथै आधुनिक खेतीमा प्रयोग हुने औजार, गुणस्तरीय मलखाद, बीउबिजन, सिँचाइ प्रविधि तथा व्यवसायिक खेतीसँग सम्बन्धित नवीनतम सामग्रीको प्रदर्शनी र बिक्री–वितरण गरिनेछ। यसबाट किसान, व्यवसायी तथा नयाँ उद्यमीहरूले आधुनिक खेती प्रणाली, उत्पादन व्यवस्थापन, बजार विस्तार र व्यवसाय सञ्चालनका नयाँ अभ्यासबारे जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्। साथै, कृषि तथा पुष्प क्षेत्रका विज्ञहरूसँग प्रत्यक्ष छलफल र परामर्श गर्ने सुविधा पनि उपलब्ध हुनेछ।
प्रदर्शनीमा सहभागी हुन इच्छुक व्यवसायीहरूका लागि स्टल बुकिङको तालिका पनि सार्वजनिक गरिएको छ। फ्यानका सदस्यहरूका लागि भदौ १ गतेदेखि र गैर–सदस्यहरूका लागि भदौ ८ गतेदेखि स्टल बुकिङ खुला गरिनेछ। स्टल शुल्क सदस्यका लागि २५ हजार रुपैयाँ र गैर–सदस्यका लागि ५० हजार रुपैयाँ निर्धारण गरिएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालले पुष्प व्यवसायी, किसान, उद्यमी तथा फूलप्रेमी सबैलाई प्रदर्शनीमा सहभागी भई नेपाली पुष्प उद्योगको विकासमा योगदान पुर्याउन आग्रह गरेको छ। आयोजकका अनुसार यस प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवर्द्धन, व्यवसायीबीच सहकार्यको विस्तार तथा नयाँ लगानीकर्तालाई आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। विशेषगरी तिहार नजिकिँदै गर्दा फूलको माग र आपूर्तिबीच सन्तुलन कायम गर्न तथा स्वदेशी उत्पादनको प्रयोग बढाउन पनि प्रदर्शनी प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसले नेपाली पुष्प बजारलाई थप चलायमान बनाउँदै स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर पुष्प उद्योग निर्माणमा टेवा पुर्याउने विश्वास गरिएको छ।


