Banijya News

सामाजिक कथावस्तु बोकेका ‘कमला मिस’ र ‘हली’ एकसाथ प्रदर्शनमा, कसले पाउलान् दर्शक ?

1
1.1K Shares

नेपाली चलचित्र उद्योगमा शुक्रबारदेखि दुई नयाँ सामाजिक कथावस्तुमा आधारित फिल्म प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको अवसर पारेर निर्देशक निर शाहको ‘कमला मिस’ र निर्देशक ओम प्रतिकको ‘हली’ देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आएका हुन्। दुवै चलचित्रले नेपाली समाजका फरक–फरक यथार्थ, सामाजिक मूल्य र मानवीय संवेदनालाई पर्दामा उतार्ने प्रयास गरेका छन्।

निर्देशक तथा वरिष्ठ कलाकार निर शाहद्वारा निर्देशित ‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही कि बरबाद होस्’ बाट प्रेरित भएर निर्माण गरिएको चलचित्र हो। साहित्यिक सिर्जनालाई चलचित्रको माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ तयार गरिएको यस फिल्मले शिक्षा, सामाजिक सम्बन्ध, मानवीय भावना तथा जीवनका विभिन्न उतारचढावलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

फिल्ममा निर्देशक निर शाह स्वयंको अभिनयसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, प्रणव सुबेदी (भोला) तथा सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ। अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको संयोजनले चलचित्रलाई थप आकर्षक बनाएको विश्वास निर्माण टिमको छ। यो चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठान को प्रस्तुतिमा निर्माण गरिएको हो, जसले विजय मल्लका साहित्यिक योगदानलाई चलचित्रमार्फत दर्शकमाझ पुर्‍याउने प्रयास गरेको छ।

यता निर्देशक ओम प्रतिकको ‘हली’ ले नेपाली समाजमा अझै पनि विभिन्न स्थानमा देखिने छाउपडी प्रथा र त्यसले महिलाको जीवनमा पार्ने मानसिक, सामाजिक तथा शारीरिक प्रभावलाई मुख्य विषयवस्तु बनाएको छ। चलचित्रले परम्पराका नाममा महिलामाथि हुने विभेद, असमानता र पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गर्दै सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको छ।

‘हली’मा प्रमोद दीप, सुजाता थापा, निर्देशक ओम प्रतिक (गुरुङ), वरिष्ठ अभिनेता सरोज खनाल, अरूणा कार्की, अर्जुन गुरुङ, विद्या कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ। पूजा गुरुङ र जश्मीन श्रेष्ठ यस चलचित्रका निर्माता हुन्। सामाजिक मुद्दालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले मनोरञ्जनसँगै सशक्त सामाजिक सन्देश दिने अपेक्षा गरिएको छ।

यसपटक एकै दिन प्रदर्शनमा आएका दुवै नेपाली चलचित्रले फरक–फरक सामाजिक विषय उठान गरे पनि उद्देश्य भने समाजका यथार्थलाई दर्शकमाझ पुर्‍याउनु रहेको देखिन्छ। ‘कमला मिस’ ले साहित्यिक कथालाई चलचित्रमार्फत पुनर्जीवित गर्ने प्रयास गरेको छ भने ‘हली’ ले महिलाको अधिकार, समानता र सामाजिक रूपान्तरणको आवश्यकता उजागर गरेको छ।

चलचित्रकर्मीहरूका अनुसार नेपाली समाजका वास्तविक कथा र संवेदनशील विषयवस्तुमा आधारित फिल्मप्रति दर्शकको आकर्षण बढ्दै गएको छ। यस्तो अवस्थामा ‘कमला मिस’ र ‘हली’ दुवैले मनोरञ्जनका साथै सामाजिक सन्देश दिने चलचित्रका रूपमा दर्शकको साथ पाउने अपेक्षा गरिएको छ। अब यी दुई चलचित्रले बक्स अफिसमा कस्तो व्यापार गर्छन् र दर्शकबाट कस्तो प्रतिक्रिया प्राप्त गर्छन् भन्ने विषयलाई चलचित्र क्षेत्रले चासोका साथ हेरेको छ।

1

Scroll to Top