Banijya News

इन्टरनेट सेवा प्रदायकलाई रोयल्टी र योगदानको रकम बुझाउन मन्त्रालयको ताकेता

1
1.1K Shares

वर्षौंदेखि विवादका रूपमा रहेको इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूको बक्यौता, लाइसेन्स नवीकरण तथा नियामकीय शुल्कसम्बन्धी समस्या समाधान गर्न सरकारले पहल तीव्र बनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दूरसञ्चार सेवा शुल्क, रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा बुझाउनुपर्ने योगदान तथा लाइसेन्स नवीकरणसँग सम्बन्धित विषयलाई कानुनी र नीतिगत रूपमा टुंग्याउने उद्देश्यसहित सरोकारवाला निकायसँग निरन्तर छलफल अघि बढाएको हो।

यसैक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) का पदाधिकारीसँग छलफल गर्दै कानुनले तोकेका कर तथा शुल्कबाट कुनै पनि सेवा प्रदायक उम्किन नसक्ने स्पष्ट पार्नुभयो। उहाँका अनुसार सेवा प्रदायकहरूले उठाएका केही विषय नीतिगत वा कानुनी अस्पष्टतासँग सम्बन्धित हुन सक्ने भए पनि कानुनअनुसार तिर्नुपर्ने रकम वर्षौंसम्म रोकिराख्ने अभ्यास स्वीकार्य हुन सक्दैन। आवश्यक परे नीतिगत तथा कानुनी सुधारका विषयमा सरकारले पुनरावलोकन गर्न सक्ने भए पनि कानुनी दायित्व पूरा गर्नु सबै कम्पनीको जिम्मेवारी भएको उहाँले बताउनुभयो।

मन्त्री तिमिल्सिनाले सरकारले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढाएको जानकारी दिँदै लामो समयदेखि थाती रहेका नीतिगत, प्रशासनिक तथा नियामकीय समस्या समाधान गरी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउने लक्ष्य लिइएको बताउनुभयो। साथै, सेवा प्रदायकहरूले भोगिरहेका व्यवहारिक समस्या, कानुन संशोधन गर्नुपर्ने विषय तथा सुधारका लागि आवश्यक सुझाव लिखित रूपमा मन्त्रालयमा उपलब्ध गराउन आइस्पानलाई आग्रह गर्नुभयो।

छलफलका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले पनि आफ्नो अडान दोहो¥याएको छ। प्राधिकरणका अनुसार बक्यौता रकम नतिरेसम्म कुनै पनि इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नवीकरण गर्न सकिँदैन। मन्त्री तिमिल्सिनाले पनि कानुनी दायित्व पूरा नगरी सेवा सञ्चालनको निरन्तरता वा लाइसेन्स नवीकरणको अपेक्षा गर्न नमिल्ने स्पष्ट पार्नुभयो।

उहाँले नेपालमा सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या धेरै भएकाले प्रभावकारी नियमन र गुणस्तरीय सेवा सुनिश्चित गर्न चुनौती बढेको उल्लेख गर्नुभयो। वित्तीय रूपमा सक्षम र संस्थागत रूपमा सबल कम्पनीहरूको संख्या बढाउन आवश्यक परे मर्जर तथा प्राप्तिलाई पनि नीतिगत विकल्पका रूपमा अघि बढाउन सकिने धारणा उहाँले व्यक्त गर्नुभयो।

यता आइस्पानले भने अधिकांश इन्टरनेट सेवा प्रदायक आर्थिक दबाबमा रहेको भन्दै वर्षौंदेखिको बक्यौता एकमुष्ट रूपमा तिर्न व्यावहारिक कठिनाइ रहेको जनाएको छ। संघले विशेषगरी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउनुपर्ने रकम किस्ताबन्दीमा भुक्तानी गर्न पाउने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेको छ। साथै, दूरसञ्चार सेवा शुल्क गणनाको आधार पुनरावलोकन गर्नुपर्ने, ठूला करदाता कार्यालयको कर पुनःनिर्धारण प्रक्रियामा पुनर्विचार गर्नुपर्ने तथा ग्राहकबाट वास्तविक रूपमा असुल नभएको रकममा कर निर्धारण गरिएको विषय समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

हाल अधिकांश इन्टरनेट सेवा प्रदायकले सञ्चार मन्त्रालयलाई बुझाउनुपर्ने कुल आम्दानीको ४ प्रतिशत रोयल्टी तथा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत ग्रामीण दूरसञ्चार विकास कोषमा बुझाउनुपर्ने २ प्रतिशत योगदान पूर्ण रूपमा भुक्तानी गरेका छैनन्। महालेखापरीक्षकको कार्यालयले समेत वार्षिक प्रतिवेदनमार्फत यस्तो बक्यौता कानुनबमोजिम असुल गर्न सरकारलाई पटक–पटक सुझाव दिँदै आएको छ। सरकारले एकातर्फ कानुनी दायित्व कार्यान्वयनमा कडाइ गर्ने र अर्कोतर्फ उद्योगले उठाएका व्यवहारिक समस्या समाधानका लागि संवादलाई निरन्तरता दिने रणनीति अपनाएकाले आगामी दिनमा यो विवादको दीर्घकालीन समाधान निस्कने अपेक्षा गरिएको छ।

1

Scroll to Top