Banijya News

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, १५औँ महाधिवेशनदेखि पार्टीभित्रको विवादसम्म छलफल हुने

1
1.0K Shares

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार बस्दैछ। पार्टीको १५औँ महाधिवेशनको तयारीसहित पछिल्लो समय पार्टीभित्र देखिएका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

कांग्रेसका अनुसार बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषयसँगै पार्टी संगठन, महाधिवेशन प्रक्रिया तथा पछिल्लो समय देखिएका आन्तरिक विवादबारे छलफल हुने बताइएको छ।

सभापति गगन थापाले केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीका सन्दर्भमा पछिल्लो समय गर्नुपर्ने आवश्यक निर्णय लिइने बताएका छन्। बैठक केही दिनसम्म चल्ने जानकारी दिँदै उनले केन्द्रीय कार्यसमिति बैठक सकिएलगत्तै महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका छन्।

थापाका अनुसार बैठक दुईदेखि तीन दिनसम्म जारी रहनेछ। पार्टीभित्रका महत्वपूर्ण विषयमा छलफल गरी आवश्यक निर्णय लिने र त्यसपछि महाधिवेशन प्रक्रियालाई अघि बढाउने कांग्रेसको तयारी छ।

कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाउनुको अर्को महत्वपूर्ण पृष्ठभूमि पार्टीभित्र बढिरहेको आन्तरिक असन्तुष्टि पनि हो। संस्थापन इतर समूहले आगामी २९ साउनका लागि राष्ट्रिय भेला आह्वान गरिसकेको छ। नेतृत्वबाट पार्टी एकताका लागि ठोस पहल नभए नयाँ दल गठन गर्नेसम्मको विकल्पमा जान सकिने चेतावनी इतर समूहका नेताहरूले दिँदै आएका थिए।

यही परिस्थितिबीच कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर पार्टीभित्रका विवाद र आगामी रणनीतिबारे छलफल गर्न लागेको हो। बैठकले संस्थापन र इतर समूहबीच देखिएको मतभेदलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा समेत निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

तर, पछिल्लो समय सर्वोच्च अदालतबाट भएको आदेशपछि कांग्रेसमा तत्काल पार्टी विभाजनको सम्भावना भने केही कमजोर बनेको देखिएको छ। सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै पार्टीभित्रको विवादको कानुनी पाटो पनि पुनः छलफलमा आएको छ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादलाई पुनः सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो। उक्त आदेशपछि पार्टीभित्र तत्कालै नयाँ राजनीतिक दल गठन हुने सम्भावना कमजोर बनेको नेताहरूको बुझाइ छ।

यसैबीच, केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार कांग्रेसका पदाधिकारीहरूको बैठक बसेको थियो। कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी बैठक बसेर छलफलका विषय तथा एजेन्डा तय गर्ने अभ्यास रहँदै आएको छ।

आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको तयारीलाई कसरी अगाडि बढाउने, पार्टीभित्रको पछिल्लो विवादलाई कसरी व्यवस्थापन गर्ने तथा समसामयिक विषयमा कांग्रेसको आगामी रणनीति के हुने भन्नेबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

पार्टी सभापति थापाले बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढाउने स्पष्ट संकेत दिएकाले १५औँ महाधिवेशनको तयारी कांग्रेसको बैठकको प्रमुख विषय बन्ने देखिएको छ। लामो समयदेखि पार्टीभित्र बहसमा रहेका संगठनात्मक तथा राजनीतिक विषयमा पनि बैठकले आवश्यक निर्णय लिने तयारी गरेको छ।

1

Scroll to Top