प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुक्रबार साँझ फेसबुकमा एउटा स्टाटस लेखे र भने- ‘नआत्तिनुहोस्।’ नआत्तिन उनले कसलाई भने त्यो प्रष्ट छैन। तर शुक्रबार दिउँसो बसेको संसद् बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारको आलोचना गरेपछि उनले नआत्तिन भनेको हुन सक्ने अनुमान गर्न गाह्रो छैन। शुक्रबारको संसद् बैठकमा रास्वपाका सांसद मनिस झाले सरकारको नियतमाथि प्रश्न नरहेको तर ढंग नपुगेको भन्दै आलोचना गरेका थिए। ‘अहिलेको कुरामा इन्टिग्रेटीमा प्रश्न छैन। इन्टेन्सनमा पनि कुनै प्रश्न छैन। तर कताकता ढंग नपुगेको हो कि भन्ने चाहीँ लाग्छ। त्यो स्वीकार्नुपर्छ’, झाले भनेका थिए।
शुक्रबारकै संसद् बैठकमा उस्तै चर्को गरी सास्वपाकै सांसद रमेश प्रसाईंले पनि सरकारको आलोचना गरेका थिए। हाल नागरिकले ग्यास नपाएको विषयमा सांसद प्रसाईंले प्रधानमन्त्री र मन्त्रीका घरमा ग्यास अभाव छ कि छैन भन्दै प्रश्न पनि गरेका थिए। ‘म कहिलेकाहीँ कन्फ्युज हुन्छु। कसलाई के भनौँ? मेरै गाला मेरै चड्कन। मैले चुनाव ताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामी सरकारी कार्यालयमा ‘नो लाइन’, रास्वपाको पालामा ‘ओन्ली अनलाइन’ भनेर आफैँले गरेका भाषण सम्झिँदा र आज भात पकाउने ग्यासका लागि जनता दिनभरि, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ।’ उनले भनेका थिए।
यस्तै सांसद रविन्द्र पटेलले पनि ग्यास अभावको विषयमा सरकारको गैरजिम्मेवारी दर्शाइ रहेको जनाएका थिए भने उनले मल उपलब्ध गराउन नसकेको भन्दै कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको राजीनामा नै मागेका थिए।
त्यसपछि प्रधानमन्त्री शाहले शुक्रबार साँझ नै नआत्तिन भन्दै स्टाटस लेखेनन् मात्र उनले एक्लै हिड्नु परेको र सत्तारुढ पार्टीबाटै सहयोग नभएको संकेतसहितको स्टाटस लेखे। ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन’, शाहले लेखेका थिए।
उनको स्टाटस यतिमात्र होइन फेरि आइतबार बिहान पनि केही हुँदैछ भन्ने सन्देशसहितको अर्को स्टाटस आयो। जसमा हेटौडा कपडा उद्योगदेखि औषधि लिमिटेडसम्म देखिने गरी काम भएको जानकारी गराए। ‘इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्’, शाहले भनेका थिए। सत्तारुढ दलकै सांसदले सरकारमाथि प्रश्न उठाएपछि संविधानविद् तथा विश्लेषक भीमार्जुन आचार्यले प्रश्न उठाउने मात्र नभएर सरकार बदल्ने तागत पनि राख्नुपर्ने बताएका छन्।
शनिबार बिहान स्टाटस लेख्दै आचार्यले भनेका छन्- ‘सत्तारूढ दलका नेता र सांसद्हरूले सरकारका कामका बारेमा अब प्रश्नहरू गर्न थाल्नु भएछ। खुशी लाग्यो। तर, प्रश्न सरकारप्रति मात्र होइन। तपाईप्रति झनै गम्भीर छ। आफैले जन्माएको सरकारलाई संसद्, संविधान, दल, जनता कसैप्रति पनि जवाफदेही नभएको देख्न थाल्नु भा हो र यसका कामकारबाहीमा साच्चै असन्तुष्ट हुनु भा हो भने यसलाई बदल्ने तागत् त तपाईसँगै छ, किन त्यसो गर्न सक्नु हुन्न? सत्ता पक्ष र प्रत्तिपक्ष दुवै आफै हुने तमासा किन देखाउनु हुन्छ? यस्तो कार्यले हाम्रा पद्दति र मूल्यलाई झनै कमजोर बनाउँछ।’
सभापति र महामन्त्रीले सार्वजनिकरुपमा गराए सरकारलाई सचेत
शुक्रबार संसद्मा रास्वपाका सांसदहरुले सरकारको आलोचना गरेको अर्को दिन शनिबार पार्टी सभापति रवि लामिछाने र महामन्त्री विपीनकुमार आचार्यले सरकारलाई सचेत गराएका छन्। ब्यापारीहरु त्रसित भइरहेको महसुस आफूले गरेको भन्दै सभापति लामिछानेले सरकारलाई सर्वजनिकरूपमा सचेत गराए। काठमाडौँमा भएको एक कार्यक्रममा उनले पार्टीको लाइन ब्यापारी त्रसाउने नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
‘म निजी क्षेत्रका केही साथीहरू तर्सिनुभएको हो कि, आत्तिनुभएको हो कि भन्ने पनि थाहा पाइरहेको छु। यही फोरममार्फत के स्पष्ट पार्न चाहन्छु भने कुनै पनि मानिसले काम गर्दा व्यापार व्यवसाय गर्दा केही गलत भएका रहेछन्, केही कुरा कानुनका दायरामा रहेनछन् भने यिनलाई हेर्ने दृष्टिकोण भनेको आर्थिक अपराधको रुपमा हेर्ने हो। अन्य अपराधीजस्तो साँझ बिहान कहिले थुन्ला उसलाई भन्ने डर र त्रासमा कसैले पनि व्यापार गर्न सक्दैन’, उनले अगाडि भने ‘म सरकारलाई यहीँबाट बताउन चाहन्छु। म स्पष्ट पार्न चाहन्छु कि, पार्टीको स्पष्ट लाइन छ। पार्टी स्पष्ट छ, कसैले गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने हो।’
लामिछानेले यतिमात्र भनेनन्। अगाडि बढ्दै सरकासले काम गरेन भने पार्टीले जतिबेला पनि सरकारको कान समाउने सक्ने धम्कीपूर्व अभिव्यक्ति दिए। ‘सरकारले आफ्नो वाचा लक्ष्य अनुसार काम गर्छ। सरकारले काम गरेन भने हामीसँग राजनीतिक पार्टी छ, बाटो बिरायो भने सरकारलाई जतिबेला पनि कान समाउने क्षमता पोलिटिकल पार्टीले जहिले पनि राख्छ’, लामिछानेले भने।
शनिबार नै महामन्त्री आचार्यले बालेनको स्टाटस लक्षित टिप्पणी गरे। शुक्रबार बालेनले कहिले काहीँ एक्लै लड्नुपर्ने भन्ने स्टाटसलक्षित आचार्यले देश बनाउन सबैको साथ चाहिने भन्दै बालेनको टिप्पणीको खण्डन गरे।रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश एक्लैले बनाउन नसकिने बताए। ‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन। देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ’, उनले भनेका थिए।
यसअघि बालेनको स्टाटसलक्षित शनिबार बिहानै मनिष झाले कोही एक्लो नरहेको बताएका थिए। उनले सरकारले सुधार गर्नुपर्ने केही कुरा रहेको बताएका थिए। झा यसअघि पार्टी प्रवक्तासमेत थिए।
‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नै पर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन’ झाले बालेनलाई जवाफ दिएका थिए।
संसद्देखि सार्वजनिक कार्यक्रममा सत्तारुढ दलबाटै सरकारमाथि प्रश्न उठेपछि सिंहरबार (सरकार) र घण्टीघर (रास्वपा)को बेमेल बढ्दै गएको बुझ्न कठिन छैन। दिनप्रति दिन सरकारको काम कारबाहीमाथि रास्वपाका सांसदहरुले प्रश्न उठाउनका थालेका छन्।यो दुई दिनमै देखिएको बेमेल होइन। यसअघि सास्वपाका सचेतकहरुलेसमेत सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए।
यसै पनि सरकार आफ्नो प्रतिवद्धताको लिकमा छैन। जेठ १७ गते नेपालले पनि भारको धेरै ठाउँमा जमिन मिचेको रहेछ भन्ने प्रधानमन्त्री शाहले अभिव्यक्ति दिएपछि त्यसको विषयमा रास्वपा निकै दबाबमा परेको छ। यस विषयमा रास्वापा सांसदले खुलेर बचाउ र बिरोध गर्न सकेका छैनन्। अनौपचारिकरुपमा रास्वपा सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर असन्तुष्ट व्यक्त गर्छन्।


