Banijya News

नाइमा र नाडा अटो शोको तयारी अन्तिम चरणमा, नयाँ ब्रान्डको प्रवेशसँगै बढ्यो प्रतिस्पर्धा

1
1.0K Shares

नेपालको अटोमोबाइल क्षेत्रका दुई प्रमुख प्रदर्शनी नाइमा मोबिलिटी एक्स्पो–२०२६ र नाडा अटो शो–२०२६ सुरु हुन केही दिन मात्रै बाँकी छ। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले साउन २६ देखि ३१ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना गर्दैछ भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो आयोजना गर्ने भएको छ।

दुवै आयोजकले यस वर्षको प्रदर्शनी अघिल्लो संस्करणको तुलनामा थप भव्य, व्यवस्थित र आकर्षक हुने दाबी गरेका छन्। नाडाका अनुसार अटो शोमा नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगले आफ्ना नयाँ उत्पादन, प्रविधि र सेवा सार्वजनिक गर्नेछन्। प्रदर्शनीमा हजारौं आगन्तुकसँगै उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ।

नाइमाले पनि गत वर्षको प्रिमियम अनुभवलाई थप परिष्कृत गर्दै २०२६ को संस्करणलाई सहज, व्यवस्थित, समावेशी र आगन्तुकमैत्री बनाउने जनाएको छ। नाइमा मोबिलिटी एक्स्पोमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड तथा ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक हुने तयारी छ। एक्स्पोमा दुईपांग्रे, चारपांग्रे, कमर्सियल सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी, प्रविधि र सेवासँग सम्बन्धित उत्पादन प्रदर्शन गरिनेछ।

उता, नाडा अटो शोमा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुईपांग्रे, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमा ४५ अटो कम्पोनेन्ट्स ब्रान्डको सहभागिता रहने आयोजकले जनाएको छ।

तर, यस वर्षका दुवै प्रदर्शनीमा ब्रान्डहरूको सहभागितामा उल्लेख्य फेरबदल देखिएको छ। २०२५ मा सहभागी भएर २०२६ मा सहभागी नहुने चारपांग्रे ब्रान्डमा माज्दा, मित्सुविशी, रेनो, फक्सवागेन, टेस्ला, सेरेस, स्काइवेल, एलएस अटो, ब्लुवेल, जिनपेङ र आयोन छन्। दुईपांग्रेमा बेनेली, गोगोरो, रेभोल्ट, सेगवे–नाइनबोट, याज्दी र जीहो बाहिरिएका छन्। कमर्सियलतर्फ फारिजोन, हाउजी, कारी, सनलङ, सीजी केवासी, मोन्त्रा तथा कावेई–नाभेको सहभागी हुने छैनन्।

यसको विपरीत, २०२५ मा सहभागी नभएका केही नयाँ ब्रान्ड यस वर्ष बजारमा देखिने भएका छन्। चारपांग्रेमा आइकार, डेन्जा, होन्री बोमा, बीएआइसी, आर्कफक्स, वुलिङ र स्कोडा थपिएका छन्। दुईपांग्रेमा यात्री, भिडा, याडिया, बगाउस, केरेन, गारो, जेएक्स मोटोरसीएक्स, क्युजे मोटर र एमसी मोटरले सहभागिता जनाउनेछन्। कमर्सियलतर्फ केरी, केयटन, जिन्बेई, आकवेल र सीएचटीसी नयाँ सहभागी बनेका छन्।

नाइमा एक्स्पोमा हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, किया, निसान, बीवाइडी, एमजी, जिकर, लिपमोटर, डेन्जा, ग्रेट वाल मोटर्सलगायतका ब्रान्ड रहनेछन्। दुईपांग्रेमा बजाज, होण्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउलगायत सहभागी हुँदैछन्।

नाडा अटो शोमा रिडारा, सुजुकी, डिपल, अवतार, चेरी, स्कोडा, एक्सपेङ, जीडब्लूएम, टाटा, एमजी, प्रोटोन, बीवाइडी, जीलीलगायत चारपांग्रे ब्रान्ड देखिनेछन्। दुईपांग्रेमा रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा, क्युजे मोटर र एमसी मोटर तथा लाइट कमर्सियलतर्फ किङलङ, डीएफएसके, फोटोन, जिन्बेई, डोङफेङ, आकवेल, सीएचटीसी र टाटालगायत सहभागी हुनेछन्।

दुवै प्रदर्शनीमा बीवाइडी, रोयल इन्फिल्ड, डोङफेङ र कामा ब्रान्डको सहभागिता रहनेछ। नयाँ ब्रान्डको प्रवेश र केही पुराना ब्रान्डको बहिर्गमनसँगै यस वर्षका दुई अटो शो नेपाली बजारमा बढ्दो प्रतिस्पर्धा, विद्युतीय सवारीको विस्तार र उपभोक्ताको बदलिँदो रोजाइ बुझ्ने महत्वपूर्ण अवसर बन्ने देखिएको छ।

1

Scroll to Top