वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ। उनको सोमबार राति उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ। बिमलका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेसम्म उनी सामान्य अवस्थामा थिए। कुराकानी गर्दागर्दै अचानक बिरामी परेपछि उनलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति पौने १ बजे उनको निधन भएको हो।
निधनपछि बिमलको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि जनकपुरधाम उपमहानगरपालिका–१०, देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ। आफन्त, साहित्यकार, बुद्धिजीवी तथा शुभेच्छुकहरूले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा सक्रिय बिमल बहुआयामिक साहित्यकारका रूपमा परिचित थिए। उनले कथा, कविता, निबन्धलगायत साहित्यका विभिन्न क्षेत्रमा कलम चलाएका थिए। भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए।
शिक्षण क्षेत्रमा समेत उनको लामो योगदान रहेको थियो। उनी वि.सं. २०२९ सालदेखि त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयको अध्यापनमा आबद्ध भएका थिए। साहित्य र शिक्षणका माध्यमबाट उनले नेपाली तथा मैथिली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
साहित्यिक योगदानको कदरस्वरूप बिमल विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भएका थिए। उनले जगदम्बाश्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मान प्राप्त गरेका थिए।
डा. विजय दत्तका अनुसार बिमलको अन्त्येष्टि मंगलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा गरिनेछ। उनको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको साहित्यिक क्षेत्रका व्यक्तिहरूले बताएका छन्।


