Banijya News

गलत बाटोबाट कांग्रेस कब्जाको प्रयास भइरहेको छ : कृष्णप्रसाद सिटौला

1
1.1K Shares

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र स्थापित पद्धति मिचेर गलत बाटोबाट पार्टी कब्जा गर्ने प्रयास भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले यस्तो प्रवृत्ति जारी रहे त्यसको असर नेपाली कांग्रेसमा मात्र सीमित नरही मुलुकको लोकतान्त्रिक शासन व्यवस्थामै पर्न सक्ने चेतावनी दिएका छन्।

सोमबार काठमाडौंमा नेपाली कांग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै नेता सिटौलाले पार्टीभित्र देखिएको पछिल्लो गतिविधिप्रति गम्भीर असन्तुष्टि जनाएका हुन्। उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीमा नेतृत्व परिवर्तन र संगठन सञ्चालनका लागि विधानले तोकेको प्रक्रिया तथा पद्धति पालना गर्नुपर्नेमा जोड दिए।

सिटौलाले पार्टी नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशनको पक्षमा उभिएका नेताहरूलाई आफ्नो निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरे। पार्टीभित्र असहमति राख्न र नेतृत्वको आलोचना गर्न पाइने भए पनि त्यसका लागि विधानसम्मत बाटो रोज्नुपर्ने उनको भनाइ थियो।

उनले नेतृत्वको आलोचना गर्ने समूहको राजनीतिक चरित्रमाथि समेत प्रश्न उठाए। पटक–पटक फरक धारमा उभिने र परिस्थितिअनुसार निर्णय परिवर्तन गर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन नसक्ने उनको तर्क थियो।

कार्यक्रममा सिटौलाले भने, ‘गलत बाटोबाट पार्टी कब्जा गर्न पुग्नुभएको छ। त्यही बाटोबाट तपाईं हिँडिराख्नु भयो भने नेपाली कांग्रेस पार्टी मात्र होइन, त्यही बाटोबाट हिँडिराख्नु भयो भने नेपालको लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धतिमा समेत गम्भीर असर पर्न सक्छ।’

उनले पार्टीभित्रको विवाद समाधानका लागि संस्थागत प्रक्रिया अपनाउनुपर्नेमा जोड दिए। उनका अनुसार कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर हुँदा त्यसको प्रत्यक्ष प्रभाव देशको लोकतान्त्रिक प्रणालीमा समेत पर्न सक्छ।

सिटौलाले १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई आवश्यक रूपमा समायोजन गर्नुपर्ने धारणा पनि राखे। त्यसैगरी पार्टीका क्रियाशील सदस्यहरूलाई विधिवत् रूपमा मान्यता दिनुपर्ने उनको माग छ।

उनले पार्टीको संगठनलाई थप व्यवस्थित र बलियो बनाउन विधानअनुसार सदस्यता व्यवस्थापन तथा संगठन विस्तारको काम अघि बढाउनुपर्ने बताए। कांग्रेसभित्र देखिएको विवादलाई असंवैधानिक वा दबाबमूलक गतिविधिबाट नभई संवाद, सहमति र संस्थागत प्रक्रियाबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्र विशेष महाधिवेशनको मागसहित गतिविधि बढिरहेका बेला सिटौलाको यस्तो अभिव्यक्ति आएको हो। उनले विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूलाई निर्णयमा पुनर्विचार गर्न आग्रह गर्दै पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई विधान र पद्धतिअनुसार अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

1

Scroll to Top