प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा २८.४८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको आम्दानी वृद्धिमा खुद ब्याज आम्दानीको पनि योगदान देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.४७ प्रतिशतले वृद्धि भई ९ अर्ब २१ करोड २६ लाख ९३ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ८१ करोड ८१ लाख ६२ हजार रुपैयाँ थियो।
त्यस्तै, बैंकको सञ्चालन नाफामा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले ६ अर्ब ८३ करोड ३० लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको ५ अर्ब ३८ करोड २७ लाख रुपैयाँको तुलनामा करिब २७ प्रतिशत बढी हो।
वित्तीय विवरणअनुसार बैंकको कुल सञ्चालन आम्दानी ११ अर्ब ९० करोड ८ लाख ३९ हजार रुपैयाँ पुगेको छ। यद्यपि, बैंकको वितरणयोग्य नाफा भने तुलनात्मक रूपमा कम रहेको छ। समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ रहेको छ।
बैंकको वित्तीय स्वास्थ्यका केही सूचकमा भने दबाब देखिएको छ। विशेषगरी खराब कर्जा अनुपात बढेको छ। अघिल्लो आर्थिक वर्षमा ५.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर समीक्षा अवधिमा ६.६९ प्रतिशत पुगेको छ। खराब कर्जामा भएको वृद्धिले आगामी दिनमा बैंकको सम्पत्तिको गुणस्तर व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने संकेत गरेको छ।
पुँजी तथा स्रोत परिचालनतर्फ बैंकको चुक्ता पुँजी २० अर्ब ९५ करोड ४७ लाख ८१ हजार रुपैयाँ पुगेको छ। बैंकको जगेडा तथा कोषमा १३ अर्ब ९७ करोड ६१ लाख ९८ हजार रुपैयाँ रहेको छ।
यस अवधिसम्म बैंकले २ खर्ब ७७ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। त्यस्तै, बैंकको कर्जा लगानी २ खर्ब २६ अर्ब ४४ करोड ११ लाख रुपैयाँ पुगेको छ। निक्षेप र कर्जा परिचालनको आकारले बैंकको व्यवसायिक गतिविधि निरन्तर विस्तार भइरहेको देखाउँछ।
नाफा वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ६३ पैसा पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको १६ रुपैयाँ ५० पैसाभन्दा बढी हो। बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ रहेको छ।
समग्रमा प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा नाफा, सञ्चालन आम्दानी तथा प्रतिसेयर आम्दानीमा सुधार गरेको देखिन्छ। तर, खराब कर्जा अनुपातमा भएको वृद्धि भने बैंकका लागि महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ। आगामी अवधिमा खराब कर्जा नियन्त्रण गर्दै व्यवसाय विस्तार र नाफा वृद्धिलाई निरन्तरता दिन सक्नु बैंकको वित्तीय प्रदर्शनका लागि महत्वपूर्ण हुनेछ।


