घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ मा अघिल्लो वर्षको तुलनामा घाटा घटाउन सफल भए पनि कम्पनी अझै नोक्सानीमै रहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नोक्सानी ५५ करोड ४३ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षमा कम्पनीको घाटा करिब २५ करोड रुपैयाँले घटेको छ।
कम्पनीको सञ्चालन आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ५ अर्ब ५ करोड २५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार कम्पनीको सञ्चालन आम्दानी करिब ३२ करोड रुपैयाँले घटेको हो।
आम्दानीमा कमी आए पनि बिक्री लागत घट्दा कम्पनीको कुल नाफामा भने उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ७१ करोड ४४ लाख रुपैयाँ रहेको कुल नाफा गत आर्थिक वर्षमा बढेर १ अर्ब १३ करोड ९८ लाख रुपैयाँ पुगेको छ। बिक्री लागतमा आएको कमीले कुल नाफा बढाउन सहयोग गरे पनि अन्य खर्च तथा वित्तीय दायित्वका कारण कम्पनीलाई अन्ततः खुद नाफामा पु¥याउन भने सकेन।
घोराही सिमेन्टको वित्तीय विवरणले कम्पनीको सञ्चालन तहमा केही सुधार भए पनि समग्र खर्च संरचना अझै चुनौतीपूर्ण रहेको देखाउँछ। कुल नाफा बढे पनि त्यसलाई खुद नाफामा रूपान्तरण गर्न नसक्नु कम्पनीका लागि महत्वपूर्ण पक्ष बनेको छ। आगामी दिनमा बिक्री विस्तारसँगै सञ्चालन तथा वित्तीय खर्च नियन्त्रण गर्न सके कम्पनीले घाटाबाट बाहिरिने आधार बलियो बनाउन सक्ने देखिन्छ।
कम्पनीको कुल सम्पत्तिमा पनि अघिल्लो वर्षको तुलनामा कमी आएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको कुल सम्पत्ति २१३ अर्ब ९६ करोड ९८ लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो सम्पत्ति २२६ अर्ब २० करोड ८५ लाख रुपैयाँ थियो। यसअनुसार एक वर्षको अवधिमा कम्पनीको कुल सम्पत्तिमा करिब १२ अर्ब २४ करोड रुपैयाँले कमी आएको छ।
त्यस्तै, कम्पनीको कुल पुँजी ८३ अर्ब २६ करोड ८१ लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीको वित्तीय आकार ठूलो रहे पनि नाफा र सम्पत्तिको उपयोगबाट अपेक्षित प्रतिफल हासिल गर्न चुनौती देखिएको छ।
नाफा ऋणात्मक रहेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि नकारात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ १३ पैसा ऋणात्मक रहेको छ। यद्यपि, कम्पनीको प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै, कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२५ रुपैयाँ ६७ पैसा रहेको छ। कम्पनीको तरलता अनुपात शून्य दशमलव ६५७ रहेको छ, जसले छोटो अवधिका दायित्व व्यवस्थापनमा कम्पनीको वित्तीय अवस्थालाई समेत संकेत गर्छ।

