Banijya News

काठमाडौँमा २४ सै घण्टा ग्यास बिक्रीको तयारी, ५० स्थान तोकिने

1
1.0K Shares

काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव कम गर्न सरकारले २४ सै घण्टा ग्यास बिक्री गर्ने तयारी अघि बढाएको छ। उद्योग मन्त्रालयमा शुक्रबार भएको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले राजधानीका विभिन्न स्थानमा चौबीसै घण्टा ग्यास बिक्रीको व्यवस्था मिलाउन लागिएको जानकारी दिएका हुन्।

पौडेलका अनुसार उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले काठमाडौँका उपयुक्त स्थान पहिचान गरी बिक्री केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यसका लागि प्रारम्भिक रूपमा ३० देखि ४० स्थान तोक्ने वा आवश्यकता हेरेर करिब ५० स्थानसम्म विस्तार गर्ने तयारी गरिएको छ।

उनले ग्यासको माग अत्यधिक बढेका कारण उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको भन्दै सहज आपूर्तिका लागि बिक्री केन्द्रको संख्या बढाउन आवश्यक रहेको बताए। चौबीसै घण्टा बिक्री व्यवस्था लागू भएपछि एकै समयमा ठूलो भीड जम्मा हुने समस्या कम हुने अपेक्षा गरिएको छ।

छलफलमा नेपाल आयल निगमका कार्यकारी प्रमुख नागेन्द्र साहले भने हाल भारतबाट मागअनुसार एलपी ग्यास आयात भइरहेको दाबी गरेका छन्। निगमले मागअनुसार ग्यास ल्याइरहे पनि बजारमा अभाव देखिनुको कारणबारे आफूहरू पनि अचम्मित रहेको उनले बताए।

साहका अनुसार पछिल्लो समय सबै उपभोक्ता एकैपटक ग्यास खरिद गर्न आउँदा बजारमा अभावजस्तो अवस्था देखिएको हो। उनले ग्यास आपूर्तिमा तत्काल कुनै ठूलो समस्या नरहेको स्पष्ट पार्दै बजारमा देखिएको असहज अवस्था व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘मागअनुसार भारतबाट ग्यास आइरहेको छ। तर, के कारणले अभाव भएको हो भन्ने पत्ता लगाउन सकिएको छैन। कतै न कतै समस्या भने छ,’ साहले छलफलमा भने।

सरकारले अब बिक्री केन्द्रको व्यवस्थापन, स्थान छनोट र चौबीसै घण्टा सञ्चालनको तयारीलाई तीव्रता दिने भएको छ। नयाँ व्यवस्था कार्यान्वयनमा आए राजधानीवासीले आवश्यक समयमा ग्यास खरिद गर्न सहज हुने र अहिले देखिएको भीड तथा अभावको समस्या कम हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top