गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ आजदेखि चीनको प्रमुख व्यापारिक तथा पर्यटकीय सहर ग्वाङ्झाउमा सुरु हुँदैछ। ‘Rising Together: Connecting the Nepali Diaspora for Investment, Tourism, and Generational Links’ मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलन अगस्ट १५ र १६ मा क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा हुँदैछ। सम्मेलनमा ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
नेपाल र चीनका सरकारी अधिकारी, राजनीतिक दलका नेता, एनआरएनएको केन्द्रीय तथा क्षेत्रीय नेतृत्व, व्यवसायी, लगानीकर्ता, कूटनीतिज्ञ तथा विभिन्न देशमा रहेका नेपाली प्रतिनिधिहरू सम्मेलनका लागि ग्वाङ्झाउ पुगेका छन्। एसिया–प्रशान्त क्षेत्रमा रहेका नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी र सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्ने सम्मेलनको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।
सम्मेलनको संयोजन एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलले गरिरहेका छन्। एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा, निवर्तमान अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचनसहित केन्द्रीय नेतृत्वको उपस्थिति रहनेछ। नेपालबाट विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सांसदहरू पनि सम्मेलनमा सहभागी हुँदैछन्।
लगानी र पर्यटनलाई प्राथमिकता
सम्मेलनको पहिलो दिन मुख्यतः नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारीमा केन्द्रित हुनेछ। जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि, पूर्वाधार तथा उत्पादनमूलक उद्योगमा नेपाली डायस्पोराले गर्न सक्ने लगानी र साझेदारीबारे छलफल हुनेछ। सम्मेलनमा B2B networking तथा matchmaking मार्फत नेपाली व्यवसायी, लगानीकर्ता र डायस्पोराबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्ने कार्यक्रमसमेत राखिएको छ।
आयोजकका अनुसार ग्वाङ्झाउको अन्तर्राष्ट्रिय व्यापारिक केन्द्रका रूपमा रहेको विशेषतालाई उपयोग गर्दै नेपालका उत्पादन, पर्यटन र लगानीका अवसरलाई चिनियाँ तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने प्रयास गरिनेछ। रेमिट्यान्सलाई उपभोगमा मात्र सीमित नराखी उत्पादनमूलक लगानीमा रूपान्तरण गर्ने विषय पनि सम्मेलनको महत्वपूर्ण एजेन्डा हुनेछ।
वैदेशिक रोजगारीदेखि दोस्रो पुस्तासम्म
सम्मेलनको दोस्रो दिन सुरक्षित वैदेशिक रोजगारी, श्रमिकको कल्याण तथा श्रम अधिकारका विषयमा छलफल हुनेछ। त्यसैगरी महिला उद्यमशीलता, युवा सहभागिता र विदेशमा जन्मे–हुर्केका दोस्रो पुस्ताका नेपालीको पहिचान तथा नेतृत्व विकासलाई पनि प्राथमिकता दिइनेछ। संस्कृति, खेलकुद, ट्रेकिङ तथा पारिवारिक पर्यटनमार्फत दोस्रो पुस्तालाई नेपालसँग जोड्ने योजनामाथि समेत छलफल हुनेछ।
महिला तथा युवा सहभागितालाई सम्मेलनको दीर्घकालीन पक्षका रूपमा अघि सारिएको छ। आयोजकले एआई, पूर्वाधार, जलविद्युत्, पर्यटन, सूचना प्रविधि र कृषिलगायत क्षेत्रमा दक्ष नेपालीहरूको क्षेत्रीय विशेषज्ञ सञ्जाल निर्माण गर्ने लक्ष्यसमेत राखेको छ।
‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी हुने
दुई दिनसम्म हुने छलफलबाट प्राप्त निष्कर्षलाई समेटेर सम्मेलनको अन्त्यमा ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गरिनेछ। घोषणापत्रमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा डायस्पोरालाई नेपालसँग जोड्ने व्यावहारिक कार्ययोजनालाई समेट्ने तयारी गरिएको छ। साथै आगामी १२औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने देशको घोषणा पनि समापन समारोहमा गरिनेछ।
सम्मेलनले एनआरएनएको परम्परागत भूमिकालाई विदेशमा रहेका नेपालीबीचको संगठनात्मक सम्बन्धमा मात्र सीमित नराखी लगानी, पर्यटन, ज्ञान हस्तान्तरण, रोजगारी सुरक्षा र पुस्तान्तरणसँग जोड्ने नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा गरिएको छ। आयोजकका अनुसार ‘आरोहण २०२६’ नेपाली डायस्पोरालाई नेपालको आर्थिक तथा सामाजिक विकासमा अझ प्रभावकारी साझेदार बनाउने एउटा महत्वपूर्ण मञ्च बन्नेछ।

