खाना पकाउने एलपी ग्यासको अभावका कारण समस्या झेलिरहेका काठमाडौं उपत्यकाका उपभोक्तालाई राहत दिन नेपाल आयल निगमले आज राजधानीका विभिन्न सात स्थानबाट ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ।
निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा ग्यास उद्योगीहरूसँगको समन्वयमा ग्यास बिक्रीको व्यवस्था मिलाएको जनाएको छ। नियमित बिक्री केन्द्रबाट आवश्यक मात्रामा ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक भएका उपभोक्तालाई लक्षित गरी विशेष बिक्री व्यवस्था गरिएको हो।
निगमका अनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका सात स्थानबाट विभिन्न ब्रान्डका एलपी ग्यास सिलिण्डर बिक्री गरिनेछ। पछिल्लो समय बजारमा ग्यासको आपूर्ति सहज हुन नसक्दा सर्वसाधारणले लामो समयदेखि ग्यास खोज्नुपर्ने, बिक्रेताका पसल धाउनुपर्ने तथा कतिपय अवस्थामा महँगो मूल्यमा समेत ग्यास खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यही समस्यालाई मध्यनजर गर्दै निगमले प्रत्यक्ष रूपमा ग्यास बिक्री गर्ने निर्णय गरेको हो।
नियमित बिक्रेतामार्फत ग्यास प्राप्त गर्न नसकेका अति आवश्यक उपभोक्ताले निगमले तोकेको बिक्री केन्द्रमा पुगेर सिलिण्डर खरिद गर्न सक्नेछन्। ग्यास खरिद गर्न जाने उपभोक्ताले आफ्नो नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने निगमले जनाएको छ।
पहिचान खुल्ने आधिकारिक कागजातका आधारमा ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमको भनाइ छ। यसबाट वास्तविक रूपमा ग्यासको आवश्यकता भएका उपभोक्तालाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ।
ग्यास अभावका कारण विशेषगरी दैनिक खाना पकाउन एलपी ग्यासमा निर्भर परिवारहरू बढी प्रभावित भएका छन्। बजारमा ग्यास सहज रूपमा उपलब्ध नहुँदा उपभोक्ताले विभिन्न बिक्री केन्द्रमा पुगेर घण्टौँ कुर्नुपर्ने अवस्था समेत देखिएको छ। निगमको प्रत्यक्ष बिक्रीले तत्कालका लागि भए पनि यस्तो समस्यामा केही राहत पुग्ने अपेक्षा गरिएको छ।
निगमले उपभोक्तालाई तोकिएको समयभित्र सम्बन्धित बिक्री केन्द्रमा पुग्न आग्रह गरेको छ। साथै ग्यास वितरणका क्रममा अनावश्यक भीडभाड नगर्न र सम्बन्धित निकायले तोकेका नियम तथा व्यवस्थापन प्रक्रियालाई पालना गर्न पनि आग्रह गरिएको छ।
ग्यासको नियमित आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज नभएसम्म यस्ता वैकल्पिक बिक्री केन्द्रमार्फत उपभोक्तालाई राहत दिने प्रयास जारी राख्ने निगमको तयारी छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक रूपमा ग्यास भण्डारण गर्ने वा उपभोक्तालाई असहज हुने गरी बिक्री गर्ने प्रवृत्तिमाथि समेत सम्बन्धित निकायले निगरानी बढाउने अपेक्षा गरिएको छ।
ग्यास वितरण हुने स्थान र उपलब्ध ब्रान्डहरू :
- निगमको टेकु परिसर : नेपाल, एचपि, एभरेष्टरसुगम, श्रीराम र सगर
- पशु सेवा शाखा, चपली, बुढानीलकण्ठ : नेपाल, एचपि र भानु
- राधास्वामी, कीर्तिपुर परिसर : नेपाल, एचपी, एभरेष्टरसुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया
- नयाँ बजार जुडो हल परिसर : नेपाल, एचपि र ओम
- तारकेश्वर नगरपालिकाको परिसर : नेपाल र एचपी
- चन्द्रागिरी नगरपालिका कार्यालय : लोकप्रिय, नेपाल, एचपि र श्रीमाया
- राष्ट्रिय क्षयरोग केन्द्र, ठिमी : नेपाल, एचपि, सूर्य, सगर, एभरेष्टरसुगम र एसटीसी

