काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पोमा अपेक्षाभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको सहभागिता देखिएको आयोजकले जनाएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा साउन २६ गतेदेखि सुरु भएको दोस्रो संस्करणको एक्स्पो छ दिनसम्म सञ्चालन हुने तय गरिएको थियो। तर, पाँचौँ दिनसम्म आइपुग्दा नै आयोजकले राखेको कुल अवलोकनकर्ता लक्ष्य पूरा भएको जनाएको छ।
आयोजकका अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पोको अवलोकन गरेका थिए। यससँगै पाँच दिनमा एक्स्पोमा पुग्ने दर्शकको संख्या एक लाख ५० हजारभन्दा बढी पुगेको छ। नाइमाले छ दिनमा करिब डेढ लाख अवलोकनकर्ता एक्स्पोमा आउने अनुमान गरेको थियो। अपेक्षित समयभन्दा एक दिनअघि नै लक्ष्य पूरा भएपछि आयोजक उत्साहित बनेको छ।
अटो एक्स्पो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा देखिएको जनसहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताए। उनका अनुसार नयाँ प्रविधि, विद्युतीय सवारीसाधन तथा विभिन्न ब्रान्डका नयाँ मोडलप्रति नेपाली उपभोक्ताको चासो बढ्दै गएको एक्स्पोमा देखिएको सहभागिताले पुष्टि गरेको छ।
एक्स्पोको उद्घाटन भएको पहिलो दिन साउन २६ गते २९ हजार जनाले अवलोकन गरेका थिए। त्यसैगरी दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढी दर्शक एक्स्पोस्थल पुगेका थिए। पाँचौँ दिनको ४२ हजारको सहभागितासँगै कुल अवलोकनकर्ता संख्या उल्लेख्य रूपमा बढेको आयोजकको तथ्याङ्क छ।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन्। विभिन्न कम्पनी तथा वितरकले नयाँ मोडलका कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन सार्वजनिक गर्दै ग्राहकको ध्यान आकर्षित गरेका छन्। हालसम्म एक्स्पोको क्रममा विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेको आयोजकले जनाएको छ।
विशेषगरी विद्युतीय सवारीसाधनतर्फ उपभोक्ताको आकर्षण उल्लेख्य देखिएको छ। अवलोकनकर्ताले सवारीसाधनको ब्याट्री क्षमता, मोटरको क्षमता, एकपटक चार्ज गर्दा प्राप्त हुने रेन्ज, चार्जिङ सुविधा, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र भविष्यको रिसेल भ्यालुका विषयमा जानकारी लिइरहेका छन्।
ग्राहक आकर्षित गर्न विभिन्न कम्पनीले एक्स्पोमा विशेष छुट, अफर तथा अन्य सुविधा पनि उपलब्ध गराएका छन्। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने उपभोक्तालाई एउटै स्थानमा विभिन्न ब्रान्ड र मोडल तुलना गर्न सहज भएको छ।
एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि बजारमा स्थापित कम्पनीसम्मको सहभागिता रहेको छ। विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा नयाँ पुस्ताका प्रविधियुक्त सवारीसाधन एक्स्पोका मुख्य आकर्षण बनेका छन्।
आज समापन हुने एक्स्पोले नेपालको अटोमोबाइल बजारमा विद्युतीय तथा वातावरणमैत्री सवारीसाधनप्रति बढ्दो उपभोक्ता रुचिलाई थप उजागर गरेको आयोजकको भनाइ छ। स्वदेशी तथा बहुराष्ट्रिय कम्पनीको सहभागिताले नेपाली बजारमा नयाँ प्रविधि र सवारीसाधनको सम्भावना विस्तार हुँदै गएको समेत एक्स्पोले देखाएको छ।


