Banijya News

उपत्यकामा दुई दिनमै १६ हजार ३०० भन्दा बढी सिलिन्डर ग्यास बिक्री

1
1.0K Shares

 काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले अतिआवश्यक उपभोक्तालाई लक्षित गरी दुई दिनमा १६ हजार ३०० भन्दा बढी सिलिन्डर बिक्री गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा अस्थायी बिक्री केन्द्र स्थापना गरी ग्यास वितरण गरेको हो।

ग्यास विक्रेताबाट सहज रूपमा सिलिन्डर पाउन नसकेको उपभोक्ताको गुनासो बढ्दै गएपछि निगमले शनिबार र आइतबार छुट्टाछुट्टै स्थानमा बिक्री केन्द्र सञ्चालन गरेको थियो। ती केन्द्रबाट विभिन्न कम्पनीका ग्यास सिलिन्डर उपभोक्तालाई प्रत्यक्ष बिक्री गरिएको निगमले जनाएको छ।

निगमका अनुसार शनिबार काठमाडौंका टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धरामा ग्यास बिक्री गरिएको थियो। ती पाँच बिक्री केन्द्रबाट एकै दिन ६ हजार ८०२ थान सिलिन्डर वितरण गरिएको थियो।

त्यस्तै, आइतबार पनि ग्यासको माग उच्च रहेका विभिन्न स्थानमा बिक्री केन्द्र सञ्चालन गरिएको थियो। निगमले काठमाडौं उपत्यकाका टेकु, बूढानीलकण्ठ, कीर्तिपुर, नयाँबजार, तारकेश्वर, चन्द्रागिरि तथा भक्तपुरको ठिमीबाट ग्यास बिक्री गरेको जनाएको छ।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार आइतबार मात्रै सातवटा बिक्री केन्द्रबाट ९ हजार ५६८ थान सिलिन्डर बिक्री गरिएको छ। शनिबारको ६ हजार ८०२ सिलिन्डरसहित दुई दिनमा कुल १६ हजार ३७० थान सिलिन्डर उपभोक्तालाई उपलब्ध गराइएको हो।

ग्यास अभावका कारण लामो समयदेखि समस्यामा परेका उपभोक्तालाई तत्काल राहत दिने उद्देश्यले निगमले प्रत्यक्ष बिक्रीको व्यवस्था गरेको जनाएको छ। बिक्री केन्द्रमा उपभोक्ताको भीड देखिए पनि आवश्यकताअनुसार सिलिन्डर उपलब्ध गराउने प्रयास गरिएको निगमको भनाइ छ।

भोलिदेखि नियमित प्रणालीबाट बिक्री

निगमले भदौ १ गतेदेखि भने ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक विक्रेतामार्फत नियमित प्रक्रियाबाटै बिक्री वितरण हुने जनाएको छ। अस्थायी रूपमा सञ्चालन गरिएका बिक्री केन्द्रबाट प्रत्यक्ष बिक्री गर्ने व्यवस्था अब निरन्तर नहुने निगमको भनाइ छ।

निगमले उपभोक्तालाई आफूलाई पायक पर्ने आधिकारिक ग्यास विक्रेतासँग सम्पर्क गरी सिलिन्डर खरिद गर्न आग्रह गरेको छ। बजारमा ग्यासको आपूर्ति नियमित बनाउने उद्देश्यले सम्बन्धित उद्योग तथा विक्रेतालाई पनि आवश्यक व्यवस्थापन गर्न भनिएको निगमले जनाएको छ।

आधा सिलिन्डरबाट पूर्ण सिलिन्डरतर्फ फर्किएपछि अभाव

उपत्यकामा पछिल्लो समय देखिएको ग्यास अभावको एउटा प्रमुख कारण बिक्री प्रणालीमा आएको परिवर्तनसँग जोडिएको निगमको भनाइ छ। पछिल्ला करिब चार महिनादेखि उपभोक्तालाई आधा सिलिन्डर अर्थात् करिब ७.१ किलो मात्र ग्यास बिक्री गर्ने व्यवस्था गरिएको थियो।

तर गत असार ३१ गतेदेखि उपभोक्तालाई नियमित १४.२ किलो क्षमताको पूर्ण सिलिन्डर उपलब्ध गराउने व्यवस्था पुनः सुरु गरियो। पूर्ण सिलिन्डर बिक्री सुरु भएपछि बजारमा एकैपटक माग बढ्दा आपूर्ति व्यवस्थापनमा दबाब परेको थियो।

मागअनुसार तत्काल ग्यास उपलब्ध हुन नसक्दा उपभोक्ताले विक्रेताबाट सिलिन्डर पाउन कठिन भएको गुनासो गर्न थालेका थिए। कतिपय स्थानमा ग्यासका लागि उपभोक्ताले लामो समय कुर्नुपर्ने अवस्था आएपछि निगमले आफैं बिक्री केन्द्र सञ्चालन गरेर बजारमा देखिएको दबाब कम गर्ने प्रयास गरेको हो।

दुई दिनको प्रत्यक्ष बिक्रीपछि अब बजारमा नियमित आपूर्ति सहज हुने अपेक्षा निगमले गरेको छ। उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र आवश्यकताअनुसार मात्र सिलिन्डर खरिद गर्नसमेत आग्रह गरिएको छ।

निगमले उद्योग, विक्रेता र स्थानीय प्रशासनसँगको समन्वयमा बजारको आपूर्ति अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। आगामी दिनमा माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै ग्यास अभाव दोहोरिन नदिने गरी वितरण प्रणाली व्यवस्थापन गरिने निगमको भनाइ छ।

1

Scroll to Top