Banijya News

चिनी आपूर्तिबारे संसदीय समितिको बैठक स्थगित, बजारमा मूल्य बढेकोबढै

1
1.0K Shares

बजारमा चिनीको मूल्य बढ्दै गएपछि आपूर्ति व्यवस्थाबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक अन्तिम समयमा स्थगित भएको छ। प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनीको सहज आपूर्ति, मूल्यवृद्धि र बजारको अवस्थाबारे छलफल गर्न आज बिहान १० बजे बैठक बोलाएको थियो।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी र मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई आमन्त्रण गरिएको थियो। समितिका सदस्यसँगै चिनी आपूर्तिसँग सम्बन्धित उद्योगी, व्यापारी तथा अन्य सरोकारवालालाई पनि छलफलमा सहभागी गराउने तयारी थियो। तर समितिले ‘विशेष कारण’ देखाउँदै बैठक स्थगित भएको जनाएको छ।

यसैबीच बजारमा चिनीको मूल्य निरन्तर बढेको उपभोक्ताको गुनासो छ। केही समयअघि प्रतिकिलो ९५ रुपैयाँमा पाइने चिनी अहिले खुद्रा बजारमा १२० रुपैयाँसम्म पुगेको छ। मूल्य बढ्नुको कारणबारे उद्योगी र व्यापारीबीच आरोप–प्रत्यारोप चलिरहेका बेला यसको प्रत्यक्ष असर भने उपभोक्तामा परेको छ।

भारतले वैशाख अन्तिम साता चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि चिनी अभाव हुने त्रास बढेको थियो। त्यसपछि नेपाल चिनी उद्योग संघले जेठ १ गते विज्ञप्ति जारी गर्दै स्वदेशमै पर्याप्त मौज्दात रहेको र उपभोक्ता आत्तिनुपर्ने अवस्था नरहेको जनाएको थियो।

तर केही महिनामै बजारको अवस्था फरक देखिएको छ। काठमाडौं शंखमुलकी गृहिणी चन्द्रकला भण्डारीका अनुसार पसलेले होलसेल बजारबाटै कम परिमाणमा चिनी आउन थालेको र मूल्यसमेत बढेको बताएका छन्।

बैठक स्थगित भएपछि अब संसदीय समितिले चिनीको मौज्दात, आयात अवस्था, उद्योगी–व्यापारीको भूमिका र मूल्यवृद्धिको वास्तविक कारणबारे कहिले छलफल गर्छ भन्ने चासो बढेको छ। उपभोक्ताले भने तत्काल बजार अनुगमनसँगै सहज आपूर्ति र मूल्य नियन्त्रणको माग गरिरहेका छन्।

1

Scroll to Top