Banijya News

भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

1
1.0K Shares

नेपालकै ठूलो खुद्रा व्यापार चेनका रूपमा परिचित भाटभटेनी सुपरस्टोरले आफ्नो सेवा विस्तार गर्दै चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था सुरु गरेको छ। कम्पनीले भक्तपुरको राधेराधेस्थित आफ्नो सुपरस्टोरलाई आजदेखि २४ घण्टा खुला राख्ने निर्णय गरेको हो।

भाटभटेनीका अनुसार चौबिसै घण्टा स्टोर सञ्चालन गर्नुको मुख्य उद्देश्य उपभोक्तालाई आफ्नो अनुकूल समयमा सहज रूपमा किनमेल गर्ने सुविधा उपलब्ध गराउनु हो। पछिल्लो समय व्यस्त जीवनशैलीका कारण धेरै उपभोक्तालाई नियमित समयमा किनमेल गर्न कठिन हुने भएकाले यस्तो सेवा प्रभावकारी हुने कम्पनीको अपेक्षा छ।

राधेराधेस्थित सुपरस्टोरमा कुराकानी गर्दै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले उपभोक्ताको सुविधालाई ध्यानमा राखेर स्टोरलाई चौबिसै घण्टा सञ्चालनमा ल्याइएको जानकारी दिए। उनका अनुसार नेपालमा यस्तो अवधारणा नयाँ भए पनि अन्तर्राष्ट्रिय बजारमा भने चौबिसै घण्टा खुद्रा स्टोर सञ्चालन गर्ने अभ्यास पहिलेदेखि नै प्रचलनमा रहेको छ।

पौडेलका अनुसार भाटभटेनीले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कम्तीमा एक–एक वटा स्टोरलाई चौबिसै घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। यसअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका स्टोरमध्ये एक–एक वटा शाखालाई २४ घण्टा खुला राख्ने तयारी भइरहेको छ।

राधेराधे शाखाबाट सुरु गरिएको यो सेवाले रातिको समयमा किनमेल गर्नुपर्ने उपभोक्ता, ढिलोसम्म काम गर्ने कर्मचारी तथा आकस्मिक रूपमा आवश्यक सामग्री खरिद गर्नुपर्ने ग्राहकलाई विशेष सुविधा पुग्ने अपेक्षा गरिएको छ।

भाटभटेनीले उपभोक्ताको बदलिँदो आवश्यकता र बजारको मागअनुसार आफ्नो सेवा तथा सञ्चालन प्रणालीमा परिवर्तन गर्दै आएको जनाएको छ। चौबिसै घण्टा सञ्चालनको नयाँ अभ्यासले उपभोक्तालाई थप सुविधा प्रदान गर्नुका साथै नेपालको खुद्रा व्यापार क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

कम्पनीले आगामी दिनमा उपभोक्ताको प्रतिक्रिया र मागका आधारमा २४ घण्टा सञ्चालनको सेवामा थप विस्तार तथा सुधार गर्दै लैजाने तयारी गरेको जनाएको छ।

1

Scroll to Top